काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले संकटा क्लबविरुद्ध साँघुरो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा थ्रीस्टारले साबिक उपविजेता संकटालाई १–० गोलले पराजित ग¥यो ।
थ्रीस्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६१औं मिनेटमा अनन्तले गोल गरेका थिए । संकटाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई अनन्तले जाली चुमाएका थिए ।
पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा संकटाले पराजय बेहोर्न बाध्य भयो । थ्रीस्टारका विक्रम लामा म्यान अफ दी म्याच चुनिए ।
जितसँगै थ्रीस्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्रीस्टारले ११ खेलबाट २० अंक जोडेको छ । संकटाले भने ११ खेलबाट १५ अंक जोडेको छ । संकटा लिगको छैटौं स्थानमा छ ।
सातदोबाटोमै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले पनि जित निकालेको छ । शुक्रबार भएको खेलमा पुलिसले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलले पराजित ग¥यो ।
पुलिसलाई जित दिलाउन भरत साहले निर्णायक गोल गरे । खेलको २९औं मिनेटमा भरतले गोल गर्दै पुलिसलाई महŒवपूर्ण तीन अंक दिलाए । कप्तान नीरकुमार राईले कर्नरबाट उपलब्ध गराइदिएको सुन्दर पासमा साहले आकर्षक गोल गरेका थिए ।
दोस्रो हाफमा आक्रामक खेल खेलेको ब्रिगेडले पाएको अवसर सदुपयोग नगर्न नसक्दा पराजय बेहोर्न बाध्य भयो । नेपाल पुलिस क्लबका तेज तामाङ म्यान अफ दी म्याच घोषित भए ।
जितसँगै नेपाल पुलिस क्लब लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले ११ खेलबाट १७ अंक जोडेको छ । ब्रिगेडको भने ११ खेलमा आठ अंक मात्र छ । तालिकामा ब्रिगेड ११औं स्थानमा रहेको छ ।