उपाधितर्फ लम्किँदै आर्मी

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होड सहज बनाउँदै लगेको छ । विभागीय डर्बी भिडन्तमा आर्मीले एपीएफ क्लबलाई हराउँदै जितको लय कायम राखेको हो । एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा आर्मीले एपीएफ क्लबलाई २–१ गोलले स्तब्ध बनायो ।

आर्मीको जितमा दुवै गोल सन्तोष तामाङले गरे । एपीएफका आशिष लामाले सान्त्वना गोल फर्काएका थिए । जितसँगै आर्मीले ११ खेलबाट २६ अंक बनाएको छ । पाँच अंक बनाएको एपीएफ १३औं स्थानमा छ ।

यसैगरी एन्फा मैदानमै भएको अर्को खेलमा मच्छिन्द्रले रेलिगेसनको दबाबमा रहेको सरस्वती युथ क्लबविरुद्ध गोल वर्षा गरेको छ । मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोलले हरायो । मच्छिन्द्रका लागि दीपक राईले दुई गोल गरे । देवेन्द्र तामाङ, विशाल राई, सोमी डे र आन्द्रेसले एक एक गोल गरेका थिए । सरस्वतीका काजिम बुसारीले सान्त्वना गोल फर्काए ।

देवेन्द्रले ४२औं मिनेटमा पहिलो गोल गरेका थिए । दीपक राईले ५४औं मिनेटमा गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए । विशाल राईले ५९औं मिनेटमा तेस्रो गोल गरेका थिए । दीपक राईले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । दीपक ७८औं मिनेटमा ह्याट्रिक गर्नबाट चुके । डीबक्स भित्र सरस्वतीका गोलरक्षकले फल खेलेपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो । दीपकको पेनाल्टी प्रहार पोस्ट् माथि हुइँकिएको थियो ।

मच्छिन्द्रका लागि पाँचौं गोल विदेशी खेलाडी सोमी डे र छैटौं गोल आन्द्रेसले दोस्रो हाफको इन्जुरी समयमा गरेका थिए । सरस्वतीले ८७औं मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको मच्छिन्द्रले २५ अंक बनाएको छ । सरस्वतीको चार अंक छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments