काठमाडौं: नेपाल तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय कुमार गच्छदारलाई राजनीतिक प्रतिशोधले फसाएको भन्दै आपत्ति जनाएको छ।
बिहीबार तरुण दलले विज्ञप्ति जारी गर्दै राजनीतिक प्रतिशोध साध्न फसाइएको भन्दै आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारमास्थित ललिता निवासको १३६ रोपनी जग्गा प्रकरणमा कांग्रेस उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोध राखी बद्नियतपूर्वक ढंगले लगाइएको आरोपप्रति नेपाल तरुण दलको गम्भीर ध्यानाकृष्ट भएको छ। अधिनायकवादी ओली सरकारको निर्देशन र योजनामा अख्तियारले यो आरोप लगाएको छ।’
यसका साथै दलले तत्कालिन सरकारका प्रमुखहरु नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र तत्कालीन सरकारका मुख्यसचिव लीलामणि पौडेललाई कम्युनिष्ट पार्टी छहारीभित्र संरक्षण गरी राखेको र कांग्रेस भएको कारण गच्छदारलाई आरोप लगाएको जिकिर गरेको छ।
यस्तै नेकपाका महासचिव विष्णु पौडेललाई पनि छाडेको भन्दै पौडेललाई कानुनको दायरामा ल्याएर कार्बाही गर्न तरुण दलले माग गरेको छ।