न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाअभियोग प्रक्रियाबाट सफाइ पाएका छन् । ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानमा उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी महाअभियोगबाट सफाइ पाएका हुन् ।
शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२ र विपक्षमा ४८ मत परेको थियो । यसैगरी अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने अभियोगमा भने उनको पक्षमा ५३ र विपक्षमा ४७ मत परेको थियो ।
विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेदवारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए ।
नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन् । रिपब्लिकन बहुमत रहेको माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाइ मत आवश्यक थियो । बुधबारको मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो ।
डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो ।