काठमाडौं : त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४–२ गोलले हरायो ।
निकै प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता पुलिसले लिएको थियो । पुलिसका बुद्धबल तामाङले २०औं मिनेटमा गोल गरे । बुद्धले डीबक्स भित्र आर्मीका रक्षकलाई छक्याउँदै गोल गरेका थिए । त्यसपछि आर्मीले ३४औं मिनेटमा बराबरी गोल फर्कायो । आर्मीका सुमन अर्यालले पोस्ट नजिकबाट हेड गोल गरेका थिए । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा पुलिसले पुनः अग्रता लियो ।
पुलिसका मानबहादुर परियारले हेड गोल गर्दै पुलिसको उत्साह बढाए । उनले नीरकुमार राईको लामो पासमा गोल गरेका थिए । त्यसपछि आक्रामक प्रदर्शन गरेको आर्मीले ७७औं मिनेटमा बराबरी गोल ग¥यो ।
आर्मीका नवयुग श्रेष्ठले गोल गरे । टोलीका लागि व्यक्तिगत दुई गोल गरेका नवयुगले ७७औं र ८५औं मिनेटमा गोल गरेका थिए । ८८औं मिनेटमा सुदिल राईले डीबक्सभित्र घम्साघम्सीबीच भेट्टाएको बलमा उत्कृष्ट गोल गर्दै आर्मीलाई सजिलै जिताए । आर्मीलाई कडा टक्कर दिएको पुलिसले पनि लगातार गोल गर्ने अवसर बनाएको थियो । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पुलिस हार खेप्न बाध्य बन्यो । दुई गोल गरेका आर्मीका नवयुग श्रेष्ठ म्यान अफ दी म्याच भए । जितसँगै शीर्ष स्थानमा रहेको आर्मीले १० खेलबाट २३ अंक बनाएको छ । १४ अंक बनाएको पुलिस सातौं स्थानमा छ ।
यसैगरी दशरथ रंगशालामा भएको अर्को खेलमा संकटा क्लबले कठिन जित हात पारेको छ । संकटाले हिमालयन शेर्पालाई १–० गोलले हरायो ।
संकटाको जितमा अफ्रिकी खेलाडी अजयी मार्टिन्सले गोल गरे । अजयीले २१औं मिनेटमा क्षितिजराज जीटीको पासमा गरेको गोल निर्णायक बनेको थियो । संकटालाई रोक्दै अंक तालिकामा सुधार गर्ने शेर्पाको योजना सफल हुन सकेन । संकटाका अजयी मार्टिन्स म्यान अफ दी म्याच भए ।
जितसँगै १० खेलबाट १५ अंक बनाएको संकटा पाँचौं स्थानमा उक्लिएको छ । सात अंक बनाएको शेर्पा १२औं स्थानमा छ ।