काठमाडौं : एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सानदार जित निकालेको छ । जितसँगै एनआरटी लिगको चौथो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलले हरायो ।
एनआरटीले पहिलो र दोस्रो हाफमा समान एकएक गोल गरेको थियो । एनआरटीको जितमा दुवै गोल वैकल्पिक खेलाडी राजेश परियारले गरे । राजेश २२औं मिनेटमा कृष्ण कुमारको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले मैदान छिरेको १० मिनेट लगत्तै एनआरटीको खाता खोले ।
राजेशले ३२औं मिनेटमा दर्शन गुरुङको पासमा जाली चुमाएका थिए । राजेशले ५२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए । उनले श्यामबाबु काप्छ्याकीको पासमा पोस्ट् नजिकबाट गोल गरेका थिए । एनआरटीका श्यामबाबु काप्छ्याकी म्यान अफ दी म्याच भए ।
एनआरटीले नौ खेलबाट १५ अंक बनाएको छ । आठ अंक बनाएको ब्रिगेड ११औं स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्मीको २० अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्र र तेस्रो स्थानमा रहेको मनाङ मस्र्याङदीको समान १९ अंक छ ।
दशरथ रंगशालामा भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले कठिन जित हात पारेको छ । प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्स च्यासल युथ क्लबलाई १–० गोलले हरायो । फ्रेन्ड्सको जितमा उत्तम राईले निर्णायक गोल गरे । उत्तमले ८४औं मिनेटमा रिवाउन्ड बलमा गोल गरेका थिए ।
विश्व अधिकारीको पहिलो फ्रिकिक प्रहार च्यासलका गोलरक्षकले फर्काएको बललाई उत्तमले सोझै जाली चुमाए । उत्तम राई म्यान अफ दी म्याच भए । जितसँगै नौ खेलबाट ११ अंक बनाएको फ्रेन्ड्स नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट नौ अंक बनाएको च्यासल १०औं स्थानमा छ ।