विराटनगर : सुशील कोइराला फाउण्डेशन भवनको आज शिलान्यास गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको त्याग, बलिदान र सङ्घर्षको स्मृतिमा फाउण्डेशनको भवन निर्माण गर्न लागिएको हो । सादा जीवन, उच्च विचारका प्रतीक स्वर्गीय कोइरालाले समर्पण र कृतज्ञतालाई जीवनभर अनुसरण गर्नुभएको कार्यक्रममा सहभागीले बताउनुभएका छन् ।
विराटनगर महानगरपालिका वडा नं ८ स्थित अशोक चोकमा निर्माण हुने सो भवनका लागि विराटनगर महानगरपालिकाले तीन कठ्ठा जग्गा प्रदान गरेको छ भने प्रदेश नं १ सरकारले रु ७५ लाख, विराटनगर महानगरपालिकाले रु पाँच लाख र विराटनगर महानगरपालिकाका प्रमख भीम पराजुलीले आमाको स्मृतिमा रु एक लाख ११ हजार सहयोग गर्नुभएको फाउण्डेशनका सचिव दीपक चापागार्इंले जानकारी दिनुभयो । भवन रु तीन करोडको लागतमा करीब दुई हजार वर्गफिटको बन्ने प्रदेश सरकारले थप सहयोग गर्ने आश्वासन प्राप्त भएको सचिव चापागाईंले बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले भवनको शिलान्यास गर्दै लोकतन्त्र र पार्टीप्रति समर्पित स्वर्गीय कोइराला नेपाली राजनीतिक क्षेत्र अनुकरणीय योगदान दिनुभएको बताउनुभयो । उहाँले ‘देश र जनताका निम्ति जीवन सङ्घर्षरत स्वर्गीय कोइराला सबैका लागि प्रेरणादायी हो’, भन्नुभयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले राष्ट्रिय व्यक्तित्वको नाममा प्रदेश सरकारले सहयोग गर्ने वचन दिनुभयो । उहाँले देश र जनताको निम्ति लडिरहने स्वर्गीय कोइरालाले नेपाली जनताको जीवनस्तर उकास्न गरेको योगदानको चर्चा गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ‘त्याग र बलिदान दिनसक्ने स्वर्गीय कोइराला नेपाली राजनीतिक क्षेत्रमा अनुपम उदाहरण हो’ भन्नुभयो ।