काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा आर्मीले जाउलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै शीर्ष स्थान कब्जा गरेको हो । आर्मीको जितमा कप्तान भरत खवासले निर्णायक गोल गरे । आर्मीका विकास खवास म्यान अफ दी म्याच भए ।
जितसँगै आर्मीले नौ खेलबाट २० अंक बनाएको छ । आर्मी दोस्रो स्थानमा रहेको मच्छिन्द्रभन्दा एक अंकले अगाडि छ । मच्छिन्द्रको १९ अंक छ । जाउलाखेल १२ अंकसहित सातौं स्थानमा छ । खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जाउलाखेलविरुद्धको जितले टोलीमा खुसी छाएको बताए । जाउलाखेलका प्रशिक्षक नरेश थापाले रक्षात्मक खेल्दै आक्रमण गर्ने रणनीति सफल नभएको बताए ।
यसैगरी लिगमा सरस्वती युथ क्लबले पहिलो जित निकालेको छ । एन्फा मैदानमै भएको खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ गोलले हरायो । सरस्वतीको जितमा काजिम बुसारीले पाँचौं र ८३औं मिनेटमा दुई गोल गरे । विनोद केसीले ३५औं र मनीष थापाले ८८औं मिनेटमा एक एक गोल गरेका थिए । शेर्पाका आशिष गुरुङले १०औं, विजय श्रेष्ठले ४५औं र रवि थापामगरले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । सरस्वतीमा काजिम म्यान अफ दी म्याच भए ।
पहिलो जितसँगै सरस्वतीले नौ खेलबाट चार अंक बनाएको छ । सरस्वती अझै अन्तिममा छ । समान खेलबाट सात अंक बनाएको शेर्पा १२औं स्थानमा छ ।