काठमाडौं : प्रदर्शन उग्र बन्दै गएपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाइएको छ । मंगलबार बिहान टिपरको ठक्करबाट एक युवाको ज्यान गएको थियो । त्यसपछि स्थानीयले दिनभर प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले मंगलबार बेलुकी साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।
टिपरको ठक्करबाट वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै ज्यान गएको थियो ।
भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको हो । घटनापछि वीरेन्द्रनगर तनावपूर्ण बनेको छ । स्थानीयले घटनाको विरोधमा सडकमा टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराएको छन् ।
सवारी साधन संचालनमासमेत प्रदर्शनकारीले अवरोध गरेका छन् । प्रदर्शनका कारण सवारी साधन चल्न सकेका छैनन् । प्रदर्शन नरोकिएको र तोडफोड हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताएका छन् ।
उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू लगाएएको हो। प्रशासनका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ ।
चालकको लापरबाहीले घटना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
प्रहरीले सडकबाट लास उठाएपछि अवस्था थप तनावपूर्ण बनेको थियो । सोहीक्रममा दोहोरा झडप भएको थियो । अश्रुग्यास प्रहार गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर एक दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् ।
प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous Article
मंगलबारदेखि हिमपात र वर्षा
Next Article