काठमाडौं : नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्ने भएका छन् ।
संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन् । उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ । यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ ।
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न नपाउने भएपछि तुम्बाहाम्फेलाई राजीनामा गराउन लागेको हो । सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ ।
उपसभामुखले सभामुखलाई सम्बोधन गरी राजीनामा दिनुपर्ने संसद् नियमावलीमा व्यवस्था छ । जेष्ठ सदस्यले उपसभामुखको राजीनामासम्बन्धी जानकारी प्रतिनिधिसभालाई गराएपछि सभामुख निर्वाचनको प्रक्रिया सुरु हुन्छ ।
उपसभामुख तुम्बाहाम्फेले भने सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ भएपछि आफूले राजीनामा दिने बताइन् । संसद् अधिवेशनअगावै राजीनामा दिने वा पछि भन्नेमा सुझाव लिइरहेको उनले बताइन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते ४ बजे बस्ने गरी संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
नयाँ सभामुख को ?
संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे सत्तासीन नेकपामा छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेको छ । स्रोतका अनुसार ओलीको रोजाइमा पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् ।
नेम्वाङले आफू सभामुखको दौडमा नरहेको अभिव्यक्ति दिएपछि दुवै अध्यक्षले आफूहरुले निर्णय गर्ने र त्यसबारे केही पनि नबोल्न नेम्वाङलाई भनिसकेको स्रोतले जनायो । पूर्वमाओवादीका नेताहरू पनि सभामुखको दौडमा छन् । अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले पनि सभामुखमा रुचि राखेका छन् । उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन् ।