काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ठूलो भ्रष्टाचार गरेको आरोप नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले लगाएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति प्रकाशित गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
दरुण दलले साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै छानविन गर्न पनि माग गरेको हो ।
जारी विज्ञप्तिमा भनिएको छ ‘साग खेलकुदको टिकट बेच्ने जिम्मा (बिना टेन्डर) गरेको ईसेवाले टिकट बिक्री वितरणमा ठगी धन्दा सञ्चालन गरेको छ ।’ ‘खेलाडी, प्रशिक्षक, निर्णायकलाई कम भत्ता दिनु, अन्तर्राष्ट्रिय स्तरको खेलकुदमा जित्ने खेलाडीलाई पुराना खेल सामग्रीबाट प्रतिस्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद हो’ दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै तरुण दलले सागमा स्वर्ण विजेतालाई २५ लाख, रजत विजेतालाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँ पुरस्कार दिन माग पनि गरेको छ ।