१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् । सातदोबाटोमा मंगलबार भएको पुरुषको ६० केजी तौल समूहमा भारतका भरिन्दर सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् । सनिलले जितेको यो ५०औं स्वर्ण हो । यस तौल समूहमा श्रीलंकाका जिवन्थ निस्सन्का बामुनु र बंगलादेशका सुरा कृष्णाले कांस्य जिते । बक्सिङमा नेपाल तीन स्वर्ण जित्न सफल भयो । यसअघि भूपेन्द्र थापामगर र मीनु गुरुङले स्वर्ण जितेका थिए ।
महिला ५१ केजीमा भारतकी पिंकी रानीले नेपालकी माला राईलाई हराउँदै स्वर्ण जितिन् । पाकिस्तानकी रजिया बानो अजिज र श्रीलंकाकी कोसला निलमिनी अथाबुदाले कांस्यमा चित्त बुझाए ।
महिलाकै ५७ केजीमा भारतकी सोनिया लाथरले श्रीलंकाकी क्रिस्मी अयोमा दुलान्ज लंकापुरायालागेलाई पराजित गर्दै स्वर्ण जितिन् । पाकिस्तानकी मेहरिन र नेपालकी चन्द्रकला थापाले कांस्य जिते । महिलाकै ६४ केजीमा नेपालकी पुनम रावल भारतकी मञ्जु बम्बोरियासँग पराजित भइन् । पाकिस्तानकी परभिनले भने कांस्य हात पारिन् ।
पुरुषको ५२ केजीको फाइनलमा भारतका स्पर्श कुमारले पाकिस्तानका सइद मोहमद आसिफलाई हराउँदै स्वर्ण जिते । नेपालका तेजबहादुर देउवा र श्रीलंकाका लासिन्दु इरान्डाले कांस्य पदक प्राप्त गरे ।
पुरुषकै ६९ केजीमा भारतकै कृसन भिकासले स्वर्ण जिते । उनले पाकिस्तानका गुल जाइबलाई पराजित गरे । नेपालका विकास लामा र बंगलादेशका अब्दुर रहिमले कांस्य जिते ।
पुरुषकै ८१ केजीमा नेपालका गणेश प्रधान रजतमा सीमित भए । उनलाई श्रीलंकाका रोमेश सान्डाकेलुम अराचचिगेले पराजित गर्दै स्वर्ण हात पारे । पाकिस्तानका अवाइस अली खान र भारतका सचिन कुमारले कांस्यमा चित्त बुझाए ।
पुरुषको ९१ केजीभन्दा माथिको भिडन्तमा भारतका नरेन्दरसँग अंकको आधारमा पराजित हुँदै नेपालका आशिष दुवादीले रजत पदक प्राप्त गरे । श्रीलंकाका बुवानेका इरान्डाले कांस्यमा चित्त बुझाए ।