काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । मंगलबार भएको फाइनलमा भुटानलाई २–१ गोलले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो । यससँगै १३औं सागमा नेपालको स्वर्ण संख्या ५१ पुगेको छ । नेपालले ५९ रजत र ९४ कांस्य पनि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमाञ्चक प्रतिस्पर्धामा नेपाललाई स्वर्ण दिलाउन अभिषेक रिजाल र सुनील बलले एकएक गोल गरेका थिए ।
खेलको १६औं मिनेटमा नै अभिषेकले गोल गर्दै घरेलु टोली नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफको ३७औं मिनेटमा कप्तान चेन्चो ग्याल्सेनले आकर्षक गोल गर्दै भुटानलाई खेलमा फर्काएका थिए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५४औं मिनेटमा सुनील बलले गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।
घरेलु दर्शकको ठूलो साथ पाएको नेपालले लगातार भुटानको पोस्ट्मा आक्रमण बुनेको थियो । एकपछि अर्को आक्रमण गरेको नेपालले प्राप्त सबै अवसरलाई सदुपयोग भने गर्न सकेन । यसको विपरीत भुटानले कमै मात्र अवसर सिर्जना गरे पनि उत्कृष्ट आक्रमण बुनेको थियो । नेपालले यसअघि राउन्ड रोबिन लिगको खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो ।
यससँगै नेपालले लगातार दोस्रो पटक साग फुटबलमा स्वर्ण पदक जितेको हो । यसअघि सन् २०१६ मा भारतमा सम्पन्न १२औं सागमा पनि नेपालले घरेलु टोली भारतलाई पराजित गर्दै स्वर्ण जितेको थियो ।
दक्षिण एसियाली खेलकुदको १३औं संस्करणसम्म आइपुग्दा नेपालले फुटबलमा चौथो पदक स्वर्ण पदक जितेको हो । सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो र सन् १९९३ मा बंगलादेशको ढाकामा सम्पन्न छैटौं संस्करणमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो । नेपालसँगै पाकिस्तानले पनि चार पटक दक्षिण एसियाली खेलकुदमा फुटबलको स्वर्ण जितेको छ । यसैगरी भारतले तीन र बंगलादेशले दुई पटक फुटबलमा स्वर्ण जितेको छ ।
भुटानले भने पहिलो पटक साग फुटबलमा रजत पदक पक्का गरेको हो । पहिलो पटक फाइनलमा पुगेको भुटानले पहिलो पटक रजत पदक जितेर ऐतिहासिक सफलता आत्मसाथ ग¥यो । घरेलु टोली नेपाललाई पराजित गर्दै ऐतिहासिक स्वर्ण जित्ने भुटानको लक्ष्य भने पूरा हुन सकेन् । यसअघिका संस्करणमा कमजोर प्रदर्शन गर्दै आएको भुटानले यस पटक भने सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो । भुटानले नेपालसँग मात्र पराजय बेहोरेको हो । राउन्ड रोबिन लिगमा माल्दिभ्स, बंगलादेश र ।ीलंकालाई पराजित गर्दै भुटानले सनसनी मच्चाएको थियो ।
प्रतियोगिताको सुरुमा भुटानका प्रशिक्षक पेम्बाले आफूहरु उत्कृष्ट फुटबल खेल्न नेपाल आएकाले जस्तोसुकै अवस्थामा पनि उत्कृष्ट खेल खेल्ने धारणा राखेका थिए । प्रशिक्षण पेम्बाको रणनीति अनुसार नै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
Previous Article
तेह्रौँ साग सम्पन्न : पाकिस्तानमा भेट्ने बाचा
Next Article