तेह्रौँ साग सम्पन्न : पाकिस्तानमा भेट्ने बाचा 

काठमाडौ :  तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) आज साँझ दशरथ रङ्गशालामा ऐतिहासिक र भव्य समारोहबीच समापन भएकोे छ । व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिँगारिएको रङ्गशालामा आयोजित विशेष समारोहमा हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक कार्यक्रमसहित साग समापन सम्पन्न भएको हो ।

समापन समारोहको शुरुमा सहभागी सातै देशका खेलाडी, प्रशिक्षक र अधिकृतले आ–आफ्नो देशको झण्डा बोकेर मार्चपास गरेका थिए । समारोहमा प्रतियोगिताको मस्कट कृष्णसार र नेपाली संस्कृतिको अङ्ग लाखे नृत्य प्रदर्शन गरिएको थियो । प्यारापिटको दर्शकदीर्घामा नअटाएपछि हजारौँ उभिएरै समापन समारोहको अवलोकन गरेको देखिन्थ्यो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश दिँदै दक्षिण एशियाली मुलुकहरूको मिनी ओलम्पिक खेलकूद प्रतियोगिताका रूपमा रहेको सागले यस क्षेत्रका जनतामा एकता, मित्रता अभिवृद्धि गर्ने कार्यमा अत्यन्तै सफलता हासिल गरेको बताउनुभयो । प्रतियोगिताको सफल आयोजना र उत्कृष्ट खेलका निम्ति आयोजक र खेलाडीलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले प्रतियोगिताको समापनको सुखद सफलताका लागि योगदान गर्ने सरकार र खेलक्षेत्र सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “अत्यन्तै भव्यरूपमा सफल भएको यो प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० लाई पनि सफल तुल्याउन योगदान पु¥याउनेछ । खेललाई अनुशासित र मर्यादित बनाउन नेपाली खेलाडीले पु¥याएको योगदानप्रति धन्यवाद छ र प्राप्त सफलताका लागि बधाई ।”

उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर १५ गते उद्घाटन गर्नुभएको थियो । छब्बीस खेल विधामा ३२० स्वर्ण, त्यतिकै सङ्ख्यामा रजत र ४८१ काश्य पदकका लागि काठमाडौँ, पोखरा र जनकपुरमा प्रतियोगिता सञ्चालन भएको थियो ।

समापन समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको साग प्रतियोगितामार्फत दक्षिण एशियाली मुलुकका जनताबीच हार्दिकता र मित्रता कायम गर्न सफल भएको बताउनुभयो । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेश सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) छोटो समयको तयारीमा ऐतिहासिक र भव्यरूपमा सम्पन्न सफल भएको बताउनुभयो ।

सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको थियो । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको थियो ।

सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवका रूपमा लिने गरिन्छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भारत पहिलो भयो भने नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान कायम गर्न सफल भयो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments