काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रको कभर्डहलमा सोमबार भएको महिला ७८ केजीमुनिको तौल समूहमा पुनमले स्वर्ण जितेकी हुन्। यस तौल समूहमा भारतले रजत र श्रीलंकाले दुवै कांस्य जित्यो।
यसैगरी महिला ७० केजी तौल समूहमा नेपालकी विनिता मगरले रजत पदकमा चित्त बुझाइन्। यस स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले कांस्य जित्यो। पुरुष ९० केजी तौल समूहमा नेपालका श्रीराम मकाजू कास्यमा सीमित भए। यो तौल समूहमा भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत पक्का गर्यो।
पुरुष एक सय केजी तौल माथिको प्रतिस्पर्धामा नेपालका राजन जोशीले कांस्यमा चित्त बुझाए। यस स्पर्धामा पाकिस्तानले स्वर्ण, भारतले रजत र श्रीलंकाले कांस्य जित्यो। पुरुष एक सय केजीमुनि नेपालका रमेशबहादुर चन्दले कांस्य जिते। पाकिस्तानले स्वर्ण र भारतले रजत तथा श्रीलंकाले थप एक कांस्य जित्यो।
महिला ७८ केजीमाथि नेपालकी आकृति जोशीले रजत जितिन्। भारतले स्वर्ण जित्दा श्रीलंका र पाकिस्तानले कांस्य बाँडे। पुरुष ८१ केजीमुनी भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत, श्रीलंका र बंगलादेशले कांस्य जिते।