गौरिकाको पदकको चाङ

काठमाडौं : एकपछि अर्को सफलता हात पार्दै गएकी नेपालकी कीर्तिमानी जलपरी गौरिका सिंहले अर्को उपलब्धि हासिल गरेकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उनले चौथो स्वर्ण पदक जितिन् । १७ वर्षीया गौरिकाले सोमबार सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको महिला एक सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण हात पारेकी हुन् ।

गौरिका सागको एउटै संस्करणमा चारवटा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । सागको १३औं सागअघि कुनै पनि नेपाली खेलाडीले एउटै संस्करणमा दुई स्वर्णसम्म जित्न सकेका थिएनन् । जारी सागमा यसअघि गौरिकाले दुई सय मिटर फ्रिस्टाइल, दुई सय मिटर ब्याकस्ट्रोक र चार सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण चुमेकी थिइन् ।

सोमबार भएको एक सय मिटर फ्रिस्टाइल स्पर्धामा गौरिकाले निर्धारित दूरी ५८.१३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा उनले भारतीय खेलाडी शिवांगी शर्मालाई पछि पारिन् । यसअघि दुई स्पर्धामा स्वर्ण जित्दा पनि उनले शिवांगीलाई नै पछि पारेकी थिइन् । एउटा स्पर्धामा भने उनले श्रीलंकाली खेलाडीलाई हराएकी थिइन् ।

जारी सागमा आठवटा स्पर्धामा भाग लिएकी गौरिकाले सबैमा कुनै न कुनै पदक हात पारिन् । उनले चार स्वर्णका अतिरिक्त दुई रजत र दुई कांस्य पनि जितिन् । उनले नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टसँग बराबरी गरेकी छन् । हाल खेल जीवनबाट सन्न्यास लिइसकेका दीपकले सागको लगातार चार संस्करणमा स्वर्ण पदक जितेर कीर्तिमान बनाएका थिए । गौरिकाले भने सागको एउटै संस्करणमा चारवटा स्वर्ण पदक जितिन् ।

गौरिकाले ५० मिटर ब्याकस्ट्रोक स्पर्धामा राष्ट्रिय कीर्तिमानसहित रजत पदक हात पारेकी थिइन् । उक्त स्पर्धामा स्वर्ण जित्ने भारतीय खेलाडी मन्ना राजीव पटेलसँग उनी दुई सेकेन्डभन्दा कम समयले पछाडि परिन् । गौरिकाले महिला एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा पनि रजत जितेकी थिइन् । महिलाको आठ सय मिटर फ्रिस्टाइल रिले र महिला चार सय मिटर फ्रिस्टाइल रिलेमा नेपालले कांस्य जित्दा पनि गौरिका टोलीमा सहभागी थिइन् ।

सागमा गौरिकाको यो दोस्रो सहभागिता हो । यसअघि सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा आयोजित १२औं सागमा पनि उनले भाग लिएकी थिइन् । उक्त सागमा उनले रजत र कांस्य पदक जितेकी थिइन् । सन् २०१६ मा आयोजित रियो ओलम्पिकमा उनले सबैभन्दा कम उमेरकी खेलाडीको गतिलो चर्चा बटुलेकी थिइन् । त्यति बेला उनी मात्र १३ वर्षकी थिइन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments