काठमाडौं : १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलका खेल बुधबारबाट सुरु हँुदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबलका खेल भने चार दिन अगाडी नै हुन लागेको हो ।
नेपालको पुरुष तथा महिला टोलीले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछ । बुधबार हुने उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टोलीले दिउँसो ३ बजे बंगलादेशसँग खेल्नेछ । पुरुष तथा महिला भलिबलका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुँदैछ ।
सागको महिला भलिबलमा नेपाल सूमह एमा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत स्वर्णको दाबेदार हो । बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टोली हो । सोही कारण बंगलादेशलाई हराएर नेपाली टोलीले सुखद सुरुवात गर्ने अभियानमा छ । महिला टोलीको कप्तानी सेटर अरुणा शाहीले गर्ने छिन् ।
आजै पुरुष टोलीले पनि बंगलादेशकै सामना गर्नेछ । उक्त खेल साँझ ७ बजे सुरु हुनेछ । पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्नु आवश्यक छ । पुरुष टोलीको कप्तानी इम रानाले गरेका छन् ।
भारत पुरुष भलिबलको समेत बलियो टिम हो । सागको पुर्व अभ्यासका लागि भारतमा रहदाँ नेपाली टिम भारतको राष्ट्रिय टिमसंग सबै मैत्रीपूर्ण खेलमा पराजित बनेको थियो ।
सोही कारण भारत सहित नकआउट चरणमा प्रवेश गर्न नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ ।