काठमाडौं : नेपालको महिला भलिबल टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सुखद सुरुआत गरेको छ । सागको औपचारिक उद्घाटन हुनुभन्दा चार दिनअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सुरु भएको महिला भलिबलको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हरायो ।
तुलनात्मक रूपमा निकै कमजोर रहेको बंगलादेशमाथि नेपालले सहज जित निकालेको थियो । पहिलो सेटमा २५–९ को जित हात पारेको नेपालले दोस्रो सेटमा पनि २५–९ कै नतिता निकाल्यो । तेस्रो सेटमा नेपाल २५–११ ले विजयी भएको थियो । सुरुआतमा पहिलो रोजाइका खेलाडीलाई उतारेको नेपालले बंगलादेशले कमजोर प्रदर्शन गरेपछि दोस्रो सेटदेखि सबै खेलाडीलाई पालैपालो मौका दिएको थियो । बंगलादेशले नेपालको सर्भिसलगायत नेगेटिभ प्वाइन्टमा अंक लिएको थियो । खेलपछि नेपालका प्रशिक्षक जगदीश भट्टले बंगलादेशलाई कमजोर आँक्दा खेलमा केही कमजोरी भएको बताए ।
साग महिला भलिबलमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र बंगलादेश छन् । समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । बुधबारकै लागि तय माल्दिभ्स र पाकिस्तानबीचको खेलमा पाकिस्तान नआएपछि माल्दिभ्सले वाकओभर पाएको छ ।
Previous Article