काठमाडौँ : ओपनर सम्झना खड्काले अविजित ३९ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले शुक्रबार मलेसियालाई दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ७ विकेटले पराजित गरेको छ । साथै नेपालले २ खेलको शृंखला २–० ले ‘क्लिन स्विप’ गरेको छ ।
सम्झनाको इनिङ्समा नेपालले क्वालालम्पुर स्थित बायुमास ओभल मैदानमा ८३ रनको लक्ष्य १६ ओभरमा पुरा गरेको थियो । सम्झनाले ३७ बल खेली ३ चौका प्रहार गरिन् । उनले कविता कुँवरसँग चौथो विकेटमा ४२ रनको अविजित साझेदारी गरिन् ।
कविता कुँवर २० बल खेली १ चौका प्रहार गरी १९ रनमा अविजित रहिन् । नेपालले अर्का ओपनर कविता जोशीलाई शून्यमै गुमाएको थियो । उनी आफूले सामना गरेको पहिलो बलमै आउट भएकी थिइन् । उपकप्तान १४ बल खेली ८ र सोनी पाख्रिन १२ रनमा आउट भइन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८२ रन बनाएको थियो । एइना हसिमले १७, धानुश्री मुहुनानले १५ र एरिएना नतासाले अविजित १३ रन बनाए । मलेसियाको इनिङ्समा केवल ५ चौका रहेको थियो ।
नेपालबाट कविता कुँवर, रिया शर्मा र रुविना क्षेत्रीले २–२ विकेट लिए । कविताले ४ ओभरमा २ मेडन राख्दै १०, रियाले ४ ओभरमा १ मेडन राख्दै १४ र रुविनाले २ ओभरमा ५ रन खर्चे । पूजा महतो र सीता रानामगरले १–१ विकेट लिए ।
नेपालले बुधबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई २ विकेटले पराजित गरेको थियो । दुबै टोली मलेसियामै हुने एसियाली खेलकुदको छनोट प्रतियोगिता र एसीसी प्रिमियर कपको तयारीमा यो खेल खेलिरहेका छन् ।

नेपालमाला
