काठमाडौं : सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रको छनोट खेलमा नेपालले मंगलबार कुबेतसँग प्रतिस्पर्धा गर्दैछ। भुटानको थिम्पुमा खेलिने खेलमा नेपालको लक्ष्य कुबेतलाई रोक्नु रहेको छ। नेपाली टोलीका प्रशिक्षक योहान कालिनले टोलीका केही खेलाडीलाई बिर्सिएर राम्रो नतिजा ल्याउनेमा टोलीको ध्यान केन्द्रित भएको बताए। यसअघि कुबेतमा खेलिएको अवे खेलमा नेपाल कुबेतसँग ७–० गोलले पराजित भएको थियो।
नेपालका लागि मंगलबार पुरानो गल्तीलाई सुधार गर्दै महत्वपूर्ण खेलाडी विमल घर्तीमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङको अभावलाई टार्नु अर्को लक्ष्य रहेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटान जानुअघि यी चार खेलाडीलाई टोलीबाट हटाएको थियो। यी खेलाडीले राति नाइट क्लबमा गएर मादक पदार्थ सेवन गरी झगडा गरेका कारण एन्फाले कारबाही गरेको हो।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा छ। समूहमा नेपालसहित कुबेत, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन्। समूहमा अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको कुबेतको सात अंक छ। समान अंक बनाएको जोर्डन तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको नेपालको तीन अंक छ। अंकविहीन चाइनेच ताइपेई अन्तिममा छ।
नेपालले यसअघि चारवटै खेल सम्बन्धित देशमा खेलिसकेको छ। चार खेलमा नेपालले तीनवटा हार खेपेको छ। नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० गोलले हराएको थियो। उक्त खेलमा दुवै गोल हाल कारबाहीमा परेका अञ्जन विष्टले गरेका थिए। नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो। चौथो खेलमा नेपालले जोर्डनसँग ३–० गोलको हार खेपेको थियो। नेपालले अब चाइनिज ताइपेईसँग सन् २०२० को मार्च २६ मा, जोर्डनसँग सन् २०२० को जुन ४ मा र अस्ट्रेलियासँग सन् २०२० को मार्च ३१ मा दशरथ रंगशालामा खेल्नेछ।
छनोट खेलका लागि एसियाली फुटबल महासंघ (एएफसी)ले एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा पाँच÷पाँच टोली सहभागी छन्। होम एन्ड अवेका आधारमा खेलाइने खेलमा दोस्रो चरणको छनोटबाट आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणका लागि छनोट हुनेछन्। तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप पनि खेल्नेछन्।