काठमाडौं : भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन शाह स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका प्रधानमन्त्री शाह हिजो त्यसतर्फ गएका थिए । नेपाली प्रतिनिधिमण्डलको टोलीसहित भारत गएका उनको यो पहिलो औपचारिक भ्रमण हो ।
प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला लगायतले बिदाइ गरेका थिए । विभिन्न भेटघाट र सम्झौता, सहमति लगायतका कार्यतालिका सकेर उनी आज नेपाल फर्किएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणबाट फर्कंदा विमानस्थलमा स्वागतका लागि पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हवाई सुरक्षा प्रोटोकल अनुसार र्याम्प ज्याकेट लगाएका छन् । यसअघि आइतबार प्रधानमन्त्रीलाई बिदाइ गर्न आइतबार उनीसहित गृहमन्त्री सुदन गुरुङ र रास्वपा प्रवक्ता जगदीश खरेल प्रोटोकल उल्लङ्घन गर्दै र्याम्प ज्याकेटविना नै जहाजको पार्किङ क्षेत्र (एप्रोन) पुगेका थिए ।
एप्रोन क्षेत्रमा विमानस्थल पास र एप्रोन ज्याकेटविना प्रवेश गरेपछि ४ वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष युवराज अधिकारीलाई कारबाही गरेको थियो ।जहाज पार्किङ गरिएको संवेदनशील क्षेत्र (र्याम्प एरिया) मा जहाजका यात्रु तथा क्रु मेम्बर बाहेक जुनसुकै व्यक्ति जाँदा र्याम्प ज्याकेट र विमानस्थलले जारी गरेको पास लगाउनैपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओको) अनुसूची १७ मा लेखिएको छ ।यो विमानस्थल सम्बन्धी अन्तर्राष्ट्रिय नियम हो । यसबाहेक नागरिक उड्डयनसँग सम्बन्धित राष्ट्रिय प्रोटोकलले पनि यसलाई अनिवार्य गरेको छ ।


नेपालमाला
