एजेन्सी/बाली : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा जय शाह दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । सोमबार इन्डोनेसियाको बालीमा सम्पन्न आईसीसी बोर्ड बैठकले शाहलाई सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।
आईसीसीका निर्देशकहरूको प्रस्तावपछि बोर्डले शाहको नाम अनुमोदन गरेको थियो । अध्यक्ष पदका लागि अन्य उम्मेदवार नहुँदा उनी निर्विरोध निर्वाचित भएका हुन् । आईसीसीले सोमबार जारी गरेको विज्ञप्तिमा शाहको नेतृत्वप्रति बोर्डले पुनः विश्वास व्यक्त गरेको जनाएको छ ।
भारतका ३८ वर्षीय शाहले सन् २०२४ डिसेम्बर १ देखि आईसीसी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी आईसीसीको इतिहासमा सबैभन्दा कम उमेरमा अध्यक्ष बन्ने व्यक्ति हुन् । यसअघि उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को सचिवका रूपमा काम गरेका थिए । शाहले सन् २०२१ देखि एसियन क्रिकेट काउन्सिल (एसीसी) को अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए ।
शाहको दोस्रो कार्यकाल विश्व क्रिकेटका लागि महत्वपूर्ण मानिएको छ । विशेषगरी सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिक खेलकुदमा क्रिकेटको पुनरागमन उनको आगामी कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक हुनेछ । सन् १९०० पछि पहिलोपटक ओलम्पिकमा क्रिकेट समावेश हुँदैछ । ओलम्पिकमा पुरुष र महिला दुवैतर्फ टीट्वेन्टी क्रिकेट सञ्चालन हुनेछ ।
शाहले पुनः अध्यक्षको जिम्मेवारी पाउँदा खुसी व्यक्त गर्दै आईसीसी बोर्डका सबै सदस्यप्रति आभार प्रकट गरेका छन् । उनले विश्व क्रिकेटको विकास, नयाँ दर्शकको आकर्षण र आगामी पुस्तालाई क्रिकेटमा जोड्ने अभियानलाई प्राथमिकता दिने बताएका छन् । ‘क्रिकेटको ओलम्पिकमा पुनरागमनले नयाँ दर्शकमाझ खेललाई पुर्याउने र नयाँ पुस्ताका खेलाडी तथा समर्थकलाई प्रेरित गर्ने ठूलो अवसर प्रदान गरेको छ’, शाहले भनेका छन् ।
आईसीसीले आगामी दिनमा महिला क्रिकेटको विकास, एसोसिएट राष्ट्रलाई थप अवसर, अन्तर्राष्ट्रिय क्रिकेटको विस्तार, खेलको व्यावसायिक विकास तथा क्रिकेटको विश्वव्यापी लोकप्रियता बढाउने योजनालाई प्राथमिकता दिने जनाएको छ ।
इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डका अध्यक्ष रिचर्ड थम्पसन, आईसीसी उपाध्यक्ष तथा जिम्बाब्वे क्रिकेटका अध्यक्ष तावेङ्वा मुकुहलानीलगायतले पनि शाहको पुनर्नियुक्तिको स्वागत गरेका छन् ।
सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप तथा सन् २०२८ को ओलम्पिक क्रिकेट प्रतियोगिताको तयारी शाहको आगामी कार्यकालका महत्वपूर्ण चुनौती हुनेछन् । विश्व क्रिकेटको व्यावसायिक विस्तारसँगै टेस्ट, एकदिवसीय र टीट्वेन्टी क्रिकेटबीच सन्तुलन कायम राख्नु पनि उनको नेतृत्वका लागि चुनौतीपूर्ण हुनेछ ।
यसअघि सन् २०२४ अगस्टमा पहिलोपटक निर्विरोध निर्वाचित भएका शाहले ग्रेग बार्कलेको स्थान लिएका थिए । दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएसँगै विश्व क्रिकेटको सर्वोच्च निकायमा उनको नेतृत्व निरन्तर रहने भएको छ ।

नेपालमाला
