२५ कात्तिकमा भाइटीकाको दिन काठमाडौं उपत्यका र आसपासमा असिना पानी परेको थियो । तर त्यसमा पश्चिमी र स्थानीय वायु जिम्मेवार रहेको मौसमविदहरु बताउँछन् ।
अकवानको प्रभाव नेपालमा कस्तो पर्ला ?
अर्नबपछि एक महिनाभन्दा कम समय अवधिमा विकसित भएको नयाँ चक्रवात अकवानको सम्भावित मार्ग र यसको प्रभावबारे नेपालमा पनि चासो बढिरहेको छ । मौसमविद्हरूले यसलाई नजिकबाट नियालीरहेको जनाएका छन् ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार चक्रवात जमिनमा प्रवेश गरेपछि यसको मार्ग र तीव्रता हेरेर थप आकलन गर्न सकिन्छ । तर अहिलेसम्मको अवस्था हेर्दा यसले नेपालमा उल्लेख्य प्रभाव पार्ने सम्भावना नरहेको उनी बताउँछन् ।
‘अहिलेको प्रारम्भिक अनुमान हेर्दा यसले पूर्वतिर बादल ल्याउने सम्भावना छ । वर्षा गराइहाले पनि एक–दुई ठाउँमा हल्का खालको होला । तर यसले लगातार पानी पार्ने, भारी वर्षा गराउने सम्भावना भने अहिलेसम्म देखिएको छैन ।’
त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल पनि अकवान चक्रवातबाट नेपालमा भारी वर्षा हुने सम्भावना अहिलेसम्म नदेखिएको बताउँछन् ।
‘आइतबार र सोमबार पूर्वी आधा नेपालका थोरै ठाउँमा हल्का वर्षा हुन सक्छ । अहिलेसम्म भारी वर्षाको स्पष्ट संकेत छैन,’ उनले फेसबुकमा लेखेका छन् ।
अहिले कहाँ, कस्तो अवस्थामा छ अकवान ?
भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवाती आँधी ‘अक्वान’ (Akvan) शक्तिशाली बन्दै गएको छ । हाल दक्षिणी तथा त्यससँग जोडिएको पश्चिममध्य बंगालको खाडीको मध्य भागमा रहेको चक्रवाती आँधी ‘अकवान’ पछिल्लो ६ घण्टामा प्रतिघण्टा ३ किलोमिटरको गतिमा बिस्तारै उत्तरतर्फ सरेको छ ।
भारतीय समयअनुसार १७ नोभेम्बर २०२६ (१ मंसिर) को मध्यरातसम्म उक्त आँधी १२.५ डिग्री उत्तरी अक्षांश र ८५.६ डिग्री पूर्वी देशान्तरमा थियो ।
यो आँधी तमिलनाडुको चेन्नईबाट करिब ५९० किलोमिटर पूर्व, श्रीलंकाको त्रिणकोमालीबाट ६४० किलोमिटर उत्तरपूर्व, आन्ध्र प्रदेशको मछलीपट्टनमबाट ६३० किलोमिटर दक्षिणपूर्व, विशाखापट्टनमबाट ६३० किलोमिटर दक्षिण–दक्षिणपूर्व र ओडिशाको गोपालपुरबाट ७६० किलोमिटर दक्षिणमा रहेको छ ।
आँधी बिस्तारै उत्तर–उत्तरपश्चिम दिशातर्फ सर्ने र आज २ मंसिरमा थप शक्तिशाली बन्दै गम्भीर चक्रवाती आँधी (Severe Cyclonic Storm) मा परिणत हुने सम्भावना छ ।
त्यसपछि ३ मंसिर साँझसम्म उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै थप शक्तिशाली भएर अति गम्भीर चक्रवाती आँधी (Very Severe Cyclonic Storm) मा परिणत हुने अनुमान गरिएको छ ।
उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने क्रममा उक्त आँधी ४ मंसिरमा आन्ध्र प्रदेश तथा यानमको तटीय क्षेत्रअन्तर्गत नेल्लोर र विशाखापट्टनमबीचको भूभागबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ । त्यस समयमा आँधीको अधिकतम निरन्तर हावाको गति प्रतिघण्टा १२० देखि १३० किलोमिटर रहने र हावाको झोक्का प्रतिघण्टा १४५ किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ ।
मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकसित हुने चक्रवातको सिधा असर नेपालमा पर्ने गरेको छैन । यसको बाहिरी घेराका बादलका कारण वर्षा, हिमपात र हावाहुरी हुने गरेको छ ।