काठमाडौं : चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो क्वालिफायर खेल्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दोस्रो क्वालिफायर खेल्न लागेको हो । चितवनले बिहीबार साँझ पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम रोयल्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
चितवनले दिएको दुई सय पाँच रनको विशाल लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४३ रन मात्रै बनाउन सक्यो । काठमाडौंका विलियम बसिस्टोले सर्वाधिक ३७ रन बनाए । यस्तै भीम सार्कीले अविजित ३०, सहान अराच्चिगेले २४, रासिद खानले १२ र सन्तोष यादवले १० रन जोडेका थिए । चितवनका रिजन ढकालले चार विकेट लिए । उनले चार ओभरमा १६ रन खर्चिएर चार विकेट लिएका थिए । रिजन सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा पनि उक्लिएका छन् । उनले सात खेलमा १६ विकेट लिएका छन् । यस्तै उसामा मीरले तीन तथा सलाउद्दिन खान र कुशल मल्लले एक÷एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय चार रन बनाएको थियो । चितवनका ओपनर कामिल मिसराले शतकीय पालि खेलेका थिए । उनले ५९ बलमा १० छक्का र पाँच चौकाको सहयोगमा अविजित एक सय २० रन बनाए । मिसराको यो पालि एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रन हो । उनी पछि कर्णाली याक्सका मार्क वाटले एक सय १४ रन बनाएका छन् । मिसराले तेस्रो विकेटका लागि कप्तान रवि बोपरासँग एक सय ५४ रनको साझेदारी गरेका थिए । कप्तान बोपराले ५३ रनको अर्धशतकीय पालि खेल्दा देव खनालले १७ रन बनाए । काठमाडौंका कप्तान करण केसी र रासिद खानले दुई÷दुई विकेट लिए ।
मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसअघि पहिलो र दोस्रो संस्करणका विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउँदै आएकोमा नेपाल क्रिकेट संघ (क्यान) ले यस पटक पुरस्कार राशिमा भारी वृद्धि गरेको हो ।
Previous Article
आईपीएलको अक्सन डिसेम्बर १६ मा गोवामा
No Newer Articles

नेपालमाला
