काठमाडौं । बागमती प्रदेशका सोयब श्रेष्ठ र विभागीय टोली एपीएफ क्लबकी अनिता अधिकारीले सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन स्वर्ण पदक जितेका छन् । सोयबले सिनियर पुरुष इपी र अनिताले सिनियर महिला फोयलमा स्वर्ण पदक जितेका हुन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा शनिबार भएको सिनियर पुरुष इपीमा सोयबले एपीएफका जंग गिरीलाई पराजित गर्दै स्वर्ण पदक पक्का गरेका थिए । गण्डकी प्रदेशका प्रशान्त गुरुङ र एपीएफका सुकीराम तामाङले कांस्य पदकमा चित्त बुझाए । यसैगरी सिनियर महिला फोयलको फाइनलमा अनिताले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबकी मनिषा श्रेष्ठलाई पराजित गरिन् । बागमतीकी सोफिया चन्द र एपीएफकी उर्मिला माझीले तेस्रो स्थान हात पारे ।
नेपाल फेन्सिङ संघको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगिताको शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकारले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका सचिव रमेश सिवाकोटी, नेपाल तेक्वान्दो संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाशशम्शेर राणा र नेपाल हक्की संघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठले गरेका थिए ।
उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले अघिल्लो सरकारको बक्रदृष्टिका कारण फेन्सिङ खेलले सोचे अनुरुप प्रगति गर्न नसकेको बताए । उनले सरकारले हरेक खेललाई एउटै नजरले हेर्नुपर्नेमा कसैलाई काखा र कस्ेलाई पाखा गरेका कारण फेन्सिङ खेल पछि परेको धारणा राखेका थिए ।

आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा चार स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा व्यक्तिगततर्फ सिनियर पुरुष इपी, सिनियर महिला फोयल, सिनियर पुरुष टिम र सिनियर महिला टिम इभेन्टमा समावेश गरिएको छ । प्रतियोगितामा कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशसँगै विभागीय टोली एपीएफ र आर्मी गरी ६ टोलीका ९६ खेलाडी सहभागी छन् ।

नेपालमाला
