काठमाडौँ : बाँदरले भाँचेको पशुपतिनाथको गजुर र त्रिशूल मर्मत गरिएको छ । पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार, करिब ८ लाख रुपैयाँ खर्चेर कोषले नेपाली कालिगडमार्फत मन्दिरको गजुर र त्रिशूलको मर्मत गरेको हो ।
सुनको जलप लगाइएको गजुरका किलाकाटी उक्किएको तथा त्रिशूलको एक भाग लत्रिएपछि सर्वसाधारण र तीर्थालुले कोषलाई मर्मतसम्भारका लागि अनुरोध गर्दै आइरहेका थिए । तर, मन्दिरको संरचनामा टेकेर मर्मत गर्न नसकिने भएकाले कोषले ढिलाइ गर्दै आइरहेको थियो । ‘सर्वसाधारणले मन्दिरको शोभा नै बिग्रियो भनी गुनासो राख्दै आइरहेका थिए । मिस्त्री लगाएर मर्मत गर्न नसकिने र पुरातत्त्व विभागको स्वीकृति चाहिने भएकाले ढिलाइ भइरहेको थियो,’ कोषका एक अधिकृतले भने, ‘यसै क्रममा बाँदरको गतिविधिले मन्दिरको सौन्दर्य थप बिगारेपछि तत्कालै मर्मत गर्नुपर्ने भयो ।’
कोषले फलामको खट बाँधेर १० दिन लगाई गजुर र त्रिशूलको मर्मत गरेको हो । ‘पुरातत्त्वको नियम अनुसार, गजुरलाई अड्याइने सुनका जलप लगाइएका किलाकाटी राखेर भक्तपुर र ललितपुरबाट मन्दिर नै मर्मत गर्न सिपालु कालिगड ल्याई मर्मत गरिएको हो,’ कोषका एक अर्का उपनिर्देशकले भने । मर्मतअघि कोषले मन्दिरमा क्षमापूजा गरेको थियो । ‘मन्दिरका मूल भट्ट (गणेश भट्ट) मार्फत क्षमा पूजा गरेर कालिगडहरू मन्दिरको शिरमा चढेर पुरातत्त्वको नियमअनुसार मर्मत गरिएको हो,’ ती उपनिर्देशकले भने । प्रवक्ता अधिकारीका अनुसार, डेढ वर्षअघि पनि कोषले मन्दिरको त्रिशूलको मर्मत गरेको थियो । यस पटक अर्को भागको मर्मत गरेको हो ।

नेपालमाला
