हाङझाव : चीनको हाङझावमा जारी १९औं एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ । हाङचाओस्थित साओशन गुवाली स्पोर्ट्स सेन्टरमा बुधबार भएको खेलमा साविक विजेता इरानले बंगलादेशलाई ५४–१६ ले हराएपछि नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तीमा कांस्य पदक सुनिश्चित गरेको हो ।
महिला कबड्डीको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपालले इरानलाई ४३–१९ ले नतिजा सुम्पिएको थियो । लगातार दुई जितसँगै इरान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणका दुवै खेलमा पराजय बेहोरेको बंगलादेश भने घर फर्किएको छ ।
नेपालले महिला कबड्डीमा पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाएको हो । सात टोली सहभागी महिला कबड्डीमा समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनिज ताइपेई र थाइल्यान्ड छन् । यस्तै समूह ‘बी’ मा साविक विजेता इरानसँगै नेपाल र बंगलादेश थिए ।
मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीले हाङचाओ आउनुअघि भारतमा एक महिना बैदेशिक प्रशिक्षण गरेको थियो । नेपाली टोलीमा अनुजा राई, जयन्ती बडु, गंगा घिमिरे, रबिना चौधरी, अर्पणा चौधरी, सिर्जनाकुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नीतु गुरुङ र मनमति विष्ट छन् ।
Previous Article
खगेनसिं हाङगाम : जनताको बोली बोलिरहेका सांसद
Next Article

नेपालमाला
