असार पहिलो साताको भारी वर्षापछिको बाढी पहिरोले ताप्लेजुङका विभिन्न गाउँमा ठूलो जनधनको क्षती गर्यो। सिदिङ्वा गाउँपालिकाको मेहेले, सिरिजंघाको याम्फुदिन, खेवाङ तथा मेरिङदेनको दोभान र मैवाखोलाका विभिन्न गाउँ बढी प्रभावित भए। सडक, पुललगायत भौतिक संरचना बगे। एक गाउँबाट अर्को गाउँसम्म पुग्ने अवस्था भएन। दोभान बजारको कटान अझै जारी छ। त्यहाँका स्थानीय अझै ढुक्कले निदाउन पाएका छैनन्।
जनप्रतिनिधिको काम नागरिकलाई यसरी दुःख परेको बेला सहारा बन्ने हो। राहत र उद्धारमा लाग्ने हो। पीडामा ‘म छु है’ भनेर आड भरोसा दिने हो। र, ढुक्कसँग जीवनयापनका लागि पहल गर्ने हो। यस पटक बर्खामा ताप्लेजुङ्गेले भोगेको हरेक पीडामा सारथि बने, प्रदेशसभा ‘ख’बाट निर्वाचित सांसद खगेनसिं हाङगाम। हुन त यस पटक ताप्लेजुङबाट प्रदेश र संघका गरी पाँच जना सांसद निर्वाचित भएका छन्। उनीहरूले पनि आफ्नो ठाउँबाट गरिरहेकै छन् होला। तर, हाङगाम यसमा अलिक फरक देखिए। उनमा फरक देखिनुपर्ने चुनौती पनि छ, किनभने उनले वर्षौँदेखि एमालेले जित्दै आएको लालकिल्ला तोडिदिएका थिए। त्यसैले पनि उनीबाट नागरिकको अपेक्षा धेरै छ।
हाङगामले पनि यो राम्ररी बुझेका छन्। त्यसैले उनी बाढी पहिरोको समय हरेक गाउँमा पुगे। पीडितलाई भेटे। उद्धारमा खटिए। राहत संकलन अभियान चलाए। ४० लाखभन्दा बढी रकम संकलन गरेर राहत बाँडे। उनले आफ्नो क्षेत्रमा मात्रै पनि बाँड्न सक्थे। तर, त्यसो गरेनन्। जिल्लाभरीका पीडितलाई वितरण गरे। र, आफू जिल्लाकै प्रतिनिधि भएको अनुभूति दिलाए।
हाङगाम निर्वाचित भएदेखि नै अधिकांश समय गाउँमा, आफ्ना नागरिकसँग नै बढी देखिन्छन्। प्रत्येक गाउँमा हुने ससाना कार्यक्रममा पुगेका देखिन्छन्। सुख दुःख साटिरहेका हुन्छन्। विशेष गरी युवामाझ लोकप्रिय रहेका उनी जनप्रतिनिधिले नागरिककै कुरा बढी सुन्नुपर्ने बताउँछन्। ‘मलाई जनताले विश्वास गरेर जिताउनुभएको छ,” उनी भन्छन्, ‘म त उहाँहरूको सेवक हुँ। उहाँहरूलाई परेको बेला मैले बोलिन भने म जनप्रतिनिधि भएको के अर्थ ?’
गत भदौ २२ गते बिहानदेखि सञ्जालमा एउटा घटनाका विषयमा भिडियो र समाचार भाइरल भए। ती भिडियोबारे लेखिएको थियो, ‘ताप्लेजुङ प्रहरी प्रमुखको निर्देशनमा प्रहरी निरीक्षकद्वारा घरमै गएर प्रदेशसभा सदस्य खगेनसिं हाङगाममाथि ज्यान मार्ने धम्की। प्रहरीद्वारा घर घेराउ। ढुंगामुढा प्रहार।’ यी अपत्यारिलो कुरा थियो। नागरिकको सुरक्षा दिने प्रहरीले कसरी सांसदलाई मार्ने धम्की दिन सक्छ ?
त्यसको केहीपछि फेरि समाचार आए, ‘सांसद हाङगामद्वारा डीएसपीलाई ज्यानमार्ने धम्की। बर्दी खोलेर आउन चेतावनी।’ यस्ता समाचारले केही दिन राष्ट्रिय मिडियामा समेत स्थान पाए। कतिपयले प्रहरीको आलोचना गरे। कतिपयले सांसदको। त्यो त एउटा तत्कालीन परिस्थितिले उब्जिएको घटना थियो। त्यसको विरोधमा युवाहरूले रातिदेखि नै आन्दोलन गरे। अनि प्रहरी प्रशासन संयमित बनेको थियो। त्यसमा दुवै पक्षको नियत देखिँदैन।
हाङगाम आफैँ पनि जेलनेल भोगेका, लामो समय प्रजातान्त्रिक आन्दोलनमा बिताएका नेता हुन्। पछिल्लो दशकमा भएका हरेक राजनीतिक परिवर्तनमा उनले जिल्लामा युवाको नेतृत्व गरेका छन्। सामाजिक कार्यमा उनको अग्रसरता छ। उनका पछाडि सयौँ युवाहरू छन्। जिल्लामा कुनै विपद् पर्दा उनको यही टोली अग्र पङ्क्तिमा खटिन्छ। नागरिकको अप्ठ्यारोमा सारथि बनेका छन्। यसमा उनको कुनै व्यक्तिगत स्वार्थ देखिँदैन। यदि, त्यस्तो स्वार्थ हुँदो हो त हालसम्म करोडौँ सम्पत्ति जोडिसक्थे होला। विलासी जीवन जिउँथे होला। निस्स्वार्थ रूपमा सामाजिक सेवामा लागेका छन्। साधारण जीवन बाँचेका छन्। उनी बजारमा भाडकै घरमा बसेका छन्।
स्वास्थ्य क्षेत्रको शिक्षा लिएका हाङगाम त्यति बेला जागिर खाएको भए वा व्यवसायमा लागेको भए पनि हुन्थ्यो। सँगै पढेका साथीहरूले पैसा कमाउने बाटो रोज्दा उनले भने आम्दानी नहुने बरु आफैँ खर्च गर्नुपर्ने सामाजिक सेवा रोजे। युवाहरूले सामाजिक र राजनीतिक परिवर्तनको अभियानमा अग्रसरता लिनुपर्छ भनेर रातदिन होमिए। कुनै लाभको पद पनि लिएनन्। र जिल्लामा एउटा साहसी र विकासप्रेमी नेताको छवि बनाए। तरुण दलको जिल्ला अध्यक्ष भएपछि उनको लोकप्रियता झनै चुलियो। त्यसपछि पार्टीको क्षेत्रीय सभापति बने। अनि संगठन निर्माणमा अझै बढी समय दिए। खटिए। सो क्रममा र विभिन्न समयमा जिल्लाका हरेक गाउँमा पुगे। नागरिक र कार्यकर्ताको गुनासा र समस्या सुन्थे। आवश्यकता पहिचान गर्थे र पार्टीको बैठकमा राख्थे।
जिल्लामा र पार्टीमा खेलेको समन्वयकारी र महत्त्वपूर्ण भूमिकाको कारण नै गत निर्वाचनमा ताप्लेजुङ प्रदेशसभा ख’मा टिकटको दाबी गरे। पार्टीले उनलाई टिकट पनि दियो। तर, त्यहाँ जित निकाल्ने कुरा कांग्रेसका लागि सजिलो विषय थिएन। किनभने त्यो क्षेत्र वर्षौँदेखि एमालेले जित्दै आएको क्षत्र थियो। त्यसमा जित निकाल्नु भनेको कांग्रेसमा लागि निकै चुनौतीपूर्ण थियो। तर, उनले जितेर आफूलाई प्रमाणित गरे। ‘खगेनसिं हाङगाम साँच्चिकै को हो’ भनेर देखाइदिए।
यहाँ उनलाई हराउन ठूलै षड्यन्त्र पनि भएको थियो। आठराई त्रिवेणी गाउँपालिकाको २ नम्बर वडा फूलबारीमा बिहानैदेखि विपक्षीले बुथ कब्जा गरे। त्यति मात्र होइन। त्यहाँ नागरिकलाई मतदान नै गर्न दिइएन। मतदान गर्न घण्टौँ हिँडेर मतदान केन्द्र पुगेका सर्वसाधारणलाई दिनभर त्रासमा राखेर राति त्यत्तिकै फर्काइयो। र, एक्कासि मतदान सम्पन्न भएको घोषणा गरियो। यो सबै खगेनसिं हाङगाम हराउने षड्यन्त्र थियो। किनभने फूलबारी कांग्रेसको सबैभन्दा धरै मतदाता भएको वडा हो। तर, त्यसका बाबजुद पनि उनले जित हासिल गरे। एउटा युवा पनि निर्वाचन जितेर नीति निर्माण गर्ने ठाउँमा पुग्छ भनेर उदाहरण बने।
त्यसयता उनले प्रदेशसभामा पनि प्रभावकारी भूमिका निभाउँदै आएका छन्। जिल्लाका विषय सदनमा उठाउँदै आएका छन्। सदन नचलेको बेला जिल्ला फर्किएर गाउँ गाउँसम्म पुगिहाल्छन्। मान्छे हो स्वाभाविक रूपमा केही कमी कमजोरी हुन्छ। उनका पनि केही कमजोर पक्ष होलान्। त्यसलाई सुधार्दै लैजानुपर्छ। कुनै घटना घट्यो भने पहिले त्यसको कारण के होला भनेर खोज्नुपर्छ। सामाजिक सञ्जालमा आएका र सतही कुरा सुनेर धारणा बनाउनु हुँदैन। बाहिर एउटा पक्षको चर्चा बढी भए पनि त्यसको भित्री कुरा र कारण फरक हुनसक्छ। हामीले सही भनेको मानिस गलत र गलत भनेको सही हुन सक्छ। मेरो करिब २० वर्षको संगतमा खगेनसिंमा त्यस्तो खराब गुण केही देखेको छैन। उनी आफूलाई लागेको कुरा प्रस्ट भन्छन्। कसैले थिचोमिचो गरेको सहँदैनन्। त्यसको प्रतिवाद गरिहाल्छन्। नागरिकलाई पनि अन्याय भए आवाज उठाइहाल्छन्। र न्यायका लागि ज्यान दिएर लाग्छन्। यसो गरिरहँदा अर्को पक्षलाई मा नपर्नु स्वाभाविक हो। कसैले विवादमा तान्न खोज्ने अनि धम्काउने तत्त्वहरू सक्रिय हुन्छन्। तर, उनी सत्यको पक्षमा उभिन्छन्।
हुन त धरानका मेयर हर्क साम्पाङ र काठमाडौँका मेयर बालेन शाह पनि बेलाबेला सामान्य विवादमा आइरहन्छन्। उनीहरूका अभिव्यक्ति र कामलाई लिएर कतिपयले आलोचना पनि गर्छन्। तर, साम्पाङ र बालेन रातदिन नगरको विकाशमा खटिइरहेका छन्। कथित प्रक्रिया मिलेन होला। तरिका मिलेन होला। तर, उनीहरूले गरेको भनेर नगरको विकास हो। नगरवासीको समृद्धिका लागि हो। दुवैमा एक खालको विकाशको भोक देखिन्छ। रत समाजमा आशाको दियो बनिरहेका छन्। आम युवाहरू उनीहरूको साथमा देखिन्छन्।
त्यस्तै खगेनसिं पनि ताप्लेजुङका युवाको ढुकढुकी हुन्। आम जिल्लावासीले नै आशा गरेका युवा नेता हुन्। उनी कर्ममा विश्वास गर्छन्। आवाजविहीनहरूको आवास बनेर उभिन्छन्। अन्यायमा परेका नागरिकको पक्षमा उभिन्छन्। जिल्लाको विकास गर्ने हुटहुटी छ, उनमा। तर, उनी यसको प्रचार चाहँदैनन्। मिडियामा देखिन खासै रुचाउँदैनन्। बाहिर चिल्ला र राम्रा कुरा गर्ने, झुटा आश्वासन बाँड्ने र नसक्ने कुरा गर्छु भन्ने बानी छैन। जे बोल्छन्, त्यही गर्छन्। यसलाई कायम राखुन्। उनलाई आगामी राजनीतिक यात्राको शुभकामना !
Previous Article
टाइटन जिमबाट तेक्वान्दो खेलाडीको बिदाइ
Next Article