काठमाडौं : अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।
बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए ।
पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ ।

नेपालमाला
