मेलबर्न : बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि पाँच विकेटको जित रच्दै इङ्ल्यान्डले आईसीसी टीट्वेन्टी विश्वकपको उपाधि जितेको छ ।
इङ्ल्यान्डले सीमित ओभरको विश्वकप जितेको यो दोस्रो पटक हो । यसअघि सन् २०१० मा इङ्ल्यान्डले उपाधि जितेको थियो ।
मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इङ्ल्यान्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो । इङ्ल्यान्डलाई जिताउन बेन स्टोक्सले अविजित ५२ रनको योगदान दिएका थिए ।
कप्तान जोस बटलरले २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए । मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए । पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले १/१ विकेट लिए ।
त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।
पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए ।
शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए ।
शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहदा हरिस राउफले अविजित १ रन बनाए । इङ्ल्यान्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । क्रिस जोर्डन र आदील राशिदले २/२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

नेपालमाला
