काठमाडौं : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा सात नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । ४०० मिटर पुरुष फ्रिस्टायलमा चार, १०० मिटर बटरफ्लाईमा तीन, महिला १०० मिटर बटफ्लाईमा एक, पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा दुई, महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा एक, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा एक र ४०० मिटर फ्रिस्टायल रिलेमा एउटा कीर्तिमान भंग भएका छन् ।
४०० मिटर पुरुष फ्रिस्टायलमा नासिर हुसेनको नाममा १३औं सागमा रहेको ४ मिनेट ३३.०५ सेकेन्डको समयलाई चार खेलाडीले उछिनेका छन् । आर्मीका नासिरले ४ मिनेट ८.६४ सेकेन्ड समयका साथ आफ्नो रेकर्डमा सुधार गर्दै स्वर्ण जिते । यस्तै रजत पदक जितेका एनआरएनका आशिष सापकोटाले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै ४ मिनेट २२.४५ सेकेन्डको समयमा दूरी पार गरे । तेस्रो स्थानमा रहेका बागमतीका इरभिन श्रेष्ठले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै ४ मिनेट २५.७४ सेकेन्ड समयका साथ कांस्य जिते । चौथो स्थानमा रहेका बागमतीका सेरेन सिंहले पनि नासिरको पूर्व कीर्तिमानलाई उछिने । उनले ४ मिनेट २५.९२ सेकेन्ड समयमा दूरी पार गरेका थिए ।
पुरुष १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले २५औं खुला राष्ट्रिय पौडी च्याम्पियनसिपमा राखेको ५९.७७ सेकेन्डको समयलाई भंग गर्दै आर्मीका नासिर हुसेनले ५७.८६ सेकेन्डको नयाँ कीर्तिमानसहित स्वर्ण जिते । दोस्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि पूर्व कीर्तिमानलाई उछिन्दै ५९.६८ सेकेन्ड समयका साथ रजत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका अनुभव सुब्बाले कांस्य पदक प्राप्त गर्ने क्रममा आफ्नो पूर्व समयलाई सुधार गर्दै ५९.७३ सेकेन्ड समयको दूरी पूरा गरे ।
महिला १०० मिटर बटरफ्लाईमा एनआरएनकी एश्ली सापकोटा डंगोलले गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको १ मिनेट ९.९७ सेकेन्ड समयलाई भंग गर्दै १ मिनेट ७.७४ सेकेन्ड समयका साथ स्वर्णमा आफ्नो नाम लेखाइन् । पुलिसकी मेगन गुरुङले रजत र बागमतीकी रोशा न्यौपानेले कांस्य जितिन् ।
पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकतर्फ एनआरएनका आशिष सापकोटाले २ मिनेट २९.६० सेकेन्डको नयाँ कीर्तिमान कायम गर्दै स्वर्ण जिते । यस विधामा यसअघि सुभम श्रेष्ठको नाममा २ मिनेट ३१.१५ सेकेन्ड समयको कीर्तिमान कायम थियो । दोस्रो स्थानमा रहेका प्रदेश १ का विकास कुमालले पनि पूर्व रेकर्डलाई उछिन्दै २ मिनेट ३०.७६ सेकेन्ड समयका साथ रजत पाए । बागमतीका सेरेन सिंहले कांस्य पाए ।
महिलातर्फको यसै विधामा आर्मीकी दुवाना लामाले २ मिनेट ४३.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय रेकर्डसहित स्वर्ण प्राप्त गरिन् । उनले हिट चरणमा आफ्नै नाममा रहेको २ मिनेट ४४.६८ सेकेन्डको समयमा आफ्नै नाममा १३औं सागमा राखेको कीर्तिमानलाई भंग गर्दै १ मिनेट ४४.२८ नयाँ रेकर्ड राखेकी थिइन् । आर्मीकी उपास्ती महर्जनले रजत र पुलिसकी अदिप्सा बैद्यले कांस्य पदक पाए ।
पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा आर्मीका एलेक्जेन्डर शाहले २७.४६ सेकेन्डको नयाँ समयका साथ स्वर्ण हात पारे । उनले हिट चरणमा आफूले १३औं सागमा राखेको २८.०३ सेकेन्डको समयमा सुधार गर्दै २७.५४ को नयाँ समयमा दूरी पूरा गरेका थिए । एपीएफका तेन्जिङ नामदोल रायन गुरुङले रजत र आर्मीका अनुभव सुब्बाले कांस्य पदक पाए । सोही विधाको महिलातर्फ ओलम्पियन गौरिका सिंहले स्वर्ण जितिन् । आर्मीको टिमबाट खेलेकी उनले ३०.८० समयका साथ दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् ।
पुरुष ४०० मिटर फ्रिस्टायल रिलेमा पनि राष्ट्रिय रेकर्ड तोडिएको छ । आर्मीका अनुभव सुब्बा, दीलिप थापामगर, नासिर हुसेन र एलेक्सजेन्डर शाहको समूहले ३ मिनेट ४५.५१ सेकेन्ड नयाँ समयको कीर्तिमानसहित स्वर्ण जिते ।
Previous Article

नेपालमाला
