पोखरा : आइतबार महिला ४०० मिटर हडल्समा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी विभागीय टोली त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले सोमबार महिला एक सय मिटर हडल्समा पनि स्वर्ण पदक जितिन् । पोखरा रंगशालामा हिट चरण १५.१६ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी जयरानीले फाइनल स्पर्धामा स्वर्ण पदक जित्न १५.६९ सेकेन्डको समय खर्चिइन् । उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । २१ वर्षीया जयरानीले ४०० मिटर हडल्समा यसअघि आफैले बनाएको एक मिनेट ०७.०२ सेकेन्डको समयमा सुधार गर्दै एक मिनेट ०४ः१३ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी थिइन् ।
चार महिनाअघि भएको ४४औं राष्ट्रिय एथलेटिक्समा चार स्वर्ण जितेपछि चर्चा बटुलेकी जयरानी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि त्यो पद्चापलाई पछ्याउने अभियानमा छिन् । बर्दियाको मधुवन नगरपालिका–२ सुन्दरपुरकी जयरानीले आफ्नो कडा मेहनतकै कारण लगातार स्वर्ण जित्न सफल भएको बताइन् । ‘एथलेटिक्समा हडल्स मलाई मन पर्ने खेल हो । अन्य विधाभन्दा कठिन विधा भएकाले पनि मैले हडल्स रोजेको हो’, जयरानीले सोमबार दोस्रो स्वर्ण जितेपछि भनिन्, ‘यस बाहेक आफ्नो कडा परिश्रम र मेहनतले लगातार दोस्रो स्वर्ण जित्न सफल भएँ । अझ कीर्तिमानसहित स्वर्ण पदक जित्न पाउँदा निकै खुसी छु ।’

राष्ट्रिय खेलकुदमा जयरानीको तेस्रो सहभागिता हो । विद्यालयस्तरीय, राष्ट्रपति रनिङ सिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगितामा अब्बल प्रदर्शन गरेकी उनी २०७३ मा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी भएकी थिइन् । त्यतिबेला राष्ट्रिय खेलकुदको अनुभव बटुलेकी उनले २०७६ मा प्रदेश ५ भएको आठौं राष्ट्रिय प्रतियोगितामा तीन वटा रजत पदक जितेकी थिइन् । आठौं राष्ट्रिय खेलकुदमा विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गरेर रजत पदक जितेकी उनले यस पटक आर्मीकै जर्सीमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । महिला एक सय मिटर हडल्समा जयरानीले स्वर्ण जित्दा आर्मीकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत र एपीएफकी भगीरतीकुमारी थारुले १९.१३ सेकेन्डका साथ कांस्य पदक जितिन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार एथलेटिक्समा पाँच स्वर्ण पदकको निर्णय भएको छ । जसमा आर्मीले तीन तथा लुम्बिनी र कर्णाली प्रदेशले एक÷एक स्वर्ण जितेका छन् । पुरुषको एक सय १० मिटर हडल्समा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दूरी १५.०३ सेकेन्डको समयमा निकाल्दै स्वर्ण पक्का गरेका थिए । नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डका साथ रजत र आर्मीका रामप्रसाद थारुले १६.०० सेकेन्डसहित कांस्य पदक जिते ।
यसैगरी डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर ओलीले स्वर्ण, पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले कांस्य पदक जिते । महिलातर्फ लुम्बिनीकी संगीता अधिकारीले स्वर्ण, एपीएफकी जितकुमारी महतोले रजत र आर्मीकी मिलन बुढामगरले कांस्य जिते ।

नेपालमाला
