काठमाडौं : उच्च अदालत पाटनले तेक्वान्दो युनियनका खेलाडीलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी नगराउन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश श्यामकाजी प्रधानको एकल इजलासले गत असोज १३ गते छनोट प्रतियोगितामार्फत चयन भएका बागमती प्रदेशका खेलाडीलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी नगराउन अन्तरिम आदेश दिएको हो ।
तेक्वान्दो खेलाडी राम गोलेलगायतका खेलाडीले युवा तथा खेलकुद मन्त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालतले सो आदेश दिएको हो । आदेशमा बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई भनिएको छ ।

प्रदेश खेलकुद परिषद्ले बागमतीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गत भदौ २० र २१ गते छनोट प्रतियोगितामार्फत आफ्नो प्रदेशका खेलाडी छनोट गरेको थियो । छनोट भएका खेलाडीले नियमित प्रशिक्षण पनि गरेका थिए । तर, प्रदेश खेलकुद परिषद्ले असोज १० गते सूचना प्रकाशित गरी असोज १२ र १३ गते युनियनका खेलाडी छनोट गरेको थियो । प्रदेश खेलकुद परिषद्ले पहिले छनोट भएका खेलाडीलाई बेवास्ता गर्दै युनियनका खेलाडीलाई मात्रै बन्द प्रशिक्षणमा सहभागी गराएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’को निर्देशनमा पहिले छनोट भएका खेलाडीलाई बाईपास गर्दै दोस्रो पटक बागमती प्रदेशको खेलाडी छनोट गरिएको हो । ‘ज्वाला’ तेक्वान्दो युनियनका अध्यक्ष भएका कारण उनले नेपाल तेक्वान्दो संघका खेलाडीलाई हटाएर आफ्ना खेलाडी समावेश गरेका हुन् । तत्कालीन सदस्यसचिव युवराज लामाको कार्यकालमा तेक्वान्दोभन्दा फरक खेलका रुपमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको राष्ट्रिय तेक्वान्दो युनियनले पछिल्लो समय आफूहरु पनि तेक्वान्दोकै नियमानुसार सञ्चालित खेल भएको भन्दै पटक पटक विवाद उठाउँदै आएको छ ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दो प्रतियोगिता शुक्रबारबाट म्याग्दीमा सुरु हुँदैछ । कात्तिक २ गतेसम्म सञ्चालन हुने तय भएको प्रतियोगिता सुरु नहुँदै विवादमा परेको छ । खेलाडीसँगै रेफ्री जर्जका विषयलाई लिएर पनि विवाद बढेको छ । नेपाल तेक्वान्दो संघले पठाएको रेफ्रीजर्जलाई बेवास्ता गर्दै राष्ट्रिय खेलकुद परिषद्ले एकलौटी रुपमा रेफ्रीजर्ज छनोट गरेपछि विवाद बढेको हो ।


नेपालमाला
