पोखरा : नेपाली खेलकुदको कुम्भमेला मानिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा सुरु भएको छ । शुक्रबार आयोजित विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घटन गरिएको हो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ सुरु भएको नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरेका थिए । ‘नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भएको घोषणा गर्दछु’, उपराष्ट्रपति पुनले भने, ‘माछापुछ«ेको काख, फेवातालको किनार र प्रमुख पर्यटकीय गन्तव्य सुन्दर नगरी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु ।’
विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भएको उद्घाटन समारोहमा गण्डकी प्रदेशका ओलम्पियन टिकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्ज्वलन गरेका थिए । यस्तै नवौं राष्ट्रिय मूल आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरेका थिए । उद्घाटन समारोहमा नवौं राष्ट्रिय खेलकुदमा सहभागी ११ टोलीकै खेलाडीले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायनलगायत आतिसबाजी गरिएको थियो ।
हरेक दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुद कोरोना महामारीलगायत विभिन्न कारण करिब चार वर्षपछि आयोजना भएको हो । गण्डकी प्रदेशमा भने ३९ वर्षपछि राष्ट्रिय खेलकुद फर्किएको हो । यसअघि २०४० सालमा गण्डकीमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । नवौं राष्ट्रिय खेलकुदमा ११ टोलीका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसपटक विभागीय टोली नेपाल पुलिस, एपीएफ र त्रिभुवन आर्मी क्लबसहित सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा ३६ खेलका ४ सय ४ इभेन्ट समावेश गरिएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको महत्व
विश्वका हरेक राष्ट्रले प्रतिभावान खेलाडी उत्पादन गर्न नियमित रुपमा राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजना गर्ने गरेका छन् । खेलकुद प्रतिभाहरु शहरमा मात्र नभई देशका कुनाकाप्चामा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर यस्तो प्रतियोगिता आयोजना गर्ने गरिन्छ । राष्ट्रिय प्रतियोगिताभन्दा अघि देशको तल्लो तहदेखि नै छनोट प्रतियोगिताहरु आयोजना गर्ने गरिन्छ । तल्लो तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी खेलाडीहरु क्रमशः छनोट चरण पार गर्दै मुख्य प्रतियोगितासम्म आइपुग्छन् । यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रिय स्तरमा चर्चित खेलाडीहरुसँंग प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँंछन् ।
त्यसैले नयाँंनयाँं प्रतिभा खोजी गर्न राष्ट्रिय प्रतियोगिता महत्वपूर्ण माध्यम हो । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर उनीहरुको सीप तिखार्ने काम गरिन्छ । त्यसपछि ती खेलाडीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइन्छ ।

एउटा राष्ट्रिय प्रतियोगिता सकिएलगत्तै तल्लो तहका खेलाडी पुनः अर्को प्रतियोगिताको तयारीमा ब्यस्त हुन्छन् । यसका लागि विभिन्न खेल संघले नियमित रुपमा जिल्ला र प्रदेशस्तरका प्रतियोगिताहरु आयोजना गरिरहेका हुन्छन् । त्यसैले दक्ष र प्रतिभावशाली खेलाडी खोजी र उत्पादन गर्न हरेक राष्ट्रमा राष्ट्रिय प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास
कुनै पनि राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने दृष्टिकोणले सबैभन्दा ठूलो र महत्वपूर्ण प्रतियोगिता हो, राष्ट्रिय खेलकुद । नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास २०३८ सालदेखि सुरु भएको हो । राष्ट्रिय खेलकुद कुनै पनि देशको सबैभन्दा ठूलो खेल मेला हो । देशभर छरिएर र लुकेर रहेका प्रतिभाको खोजी गर्ने उद्देश्यले कुनै निश्चित समयावधि तोकेर राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिन्छ ।
नेपालमा भने प्रत्येक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भनिए पनि यसले भनेकै समयमा निरन्तरता पाउन सकेको छैन । त्यसैले २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताले २०७९ सालसम्म आइपुग्दा नौ वटा खुड्किलो मात्र पार्न गर्न सकेको छ ।
सुरुमा राष्ट्रिय खेलकुद प्रतियोगितामा अञ्चलको अवधारणा अनुरुप खेलाडीबीच प्रतिस्पर्धा हुन्थ्यो । १४ वटा अञ्चलका टोलीले प्रतियोगितामा भाग लिन्थे र अन्त्यमा जुन अञ्चलका खेलाडीले सबैभन्दा बढी स्वर्ण पदक जित्यो त्यही अञ्चल राष्ट्रिय खेलकुदमा पहिलो हुन्थ्यो । त्यसपछि अञ्चलको अवधारणा हटाएर विकास क्षेत्रका आधारमा राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गराउन थालिएको हो । यस अवधारणमा पाँंच वटा विकासक्षेत्रका टोलीले प्रतियोगितामा भाग लिन्थे र जुन विकासक्षेत्रका खेलाडीले सबैभन्दा बढी स्वर्ण पदक जित्यो त्यही विकासक्षेत्र राष्ट्रिय च्याम्पियन बन्थ्यो ।
त्यसपछि आएर पाँंचवटा विकासक्षेत्रसँंगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पनि राष्ट्रिय खेलकुदमा प्रवेश दिइएको थियो । काठमाडौंमा सम्पन्न पाँंचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल कम्युनिष्ट पार्टी माआवादीको भातृ संगठन जनमुक्ति सेना (पीएलए) लाई पनि छुट्टै अस्तित्व दिएर सहभागी गराइएको थियो । त्यतिबेला यो विषयले ठूलै बिवादको रुप लिएको थियो । जनमुक्ति सेनाका नाममा माओवादीलाई प्रतियोगितामा सहभागी गराइए आफूहरु आफूहरु प्रतियोगिताबाट बाहिरिने अडान नेपाली सेनाले लिएको थियो । अन्ततः तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनमा जनमुक्ति सेनालाई पनि प्रतियोगितामा सहभागी गराइयो भने जनमुक्ति सेनाले भाग लिएका पाँंचवटा खेलमा नेपाली सेनाका खेलाडी सहभागी भएनन् । सोही कारणले नेपाली सेनाले २०६८ सालमा सुदुरपश्चिमाञ्चलको धनगढी र महेन्द्रनगरमा आयोजित छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाएन । माओवादीको भातृ संगठन जनमुक्ति सेनाको समेत सहभागिता रहेको छैटौं राष्ट्रिय खेलकुदमा छुट्टै अस्तित्व दिएर विश्वविद्यालय टोलीलाई पनि समावेश गरिएको थियो । सातौं राष्ट्रिय खेलकुददेखि विभागीय टोलीले दबादबा कायम गरेका थिए ।

नेपालमाला
