काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पोखरामा सोमबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई डकवर्थ लेविस नियमका आधारमा ६३ रनले पराजित गरेको छ । राष्ट्रिय प्रतियोगिता पहिलो पटक सहभागिता जनाएको पुलिसको महिला टोलीले डेब्यु खेलमै जित निकालेको हो ।
वर्षाका कारण १६ ओभरमा घटाइएको खेलमा पुलिसले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको कर्णालीले १०.२ ओभरमा सात विकेट गुमाएर १७ रन बनाएको अवस्थामा वर्षाले खेल हुन नसकेपछि डकवर्थ लेविस नियमका आधारमा पुलिस विजयी भएको हो । कर्णालीका लागि दीक्षा पुरीले अविजित ७ रनको पालि खेलेकी थिइन् । यस्तै दिब्या धामीले तीन, दीपशिखा विष्टले दुई र करिष्मा शाहीले एक रन बनाए । सातमध्ये कर्णालीका पाँच खेलाडी सून्यमा आउट भएका थिए । कर्णालीलाई सस्तैमा समेट्न पुलिसका सबनम राई, संगीता राई, हिरनमोई रोय, ईश्वरी विष्ट र कविता जोशीले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर एक सय १० रन बनाएको थियो । पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाइन् । यस्तै कविता कुँवर र काजल श्रेष्ठले समान १६ रन बनाउँदा रेवती धामीले १४ रनको योगदान दिइन् । कर्णालीकी अञ्जु गुरुङले तीन विकेट लिइन् । यस्तै एञ्जिला क्षत्री र वीणा थापाले एक÷एक विकेट हात पारे ।
सोमबारका लागि नै तय भएको प्रदेश १ र लुम्बिनी प्रदेशबीचको खेल भने रद्द भएको छ । निरन्तरको वर्षाका कारण प्रदेश १ र लुम्बिनी प्रदेशबीचको खेल रद्द भएको हो । समूह ‘बी’मा रहेका दुवै टोलीले एक÷एक अंक बाँडेका छन् । यस समूहमा नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ । लुम्बिनी दोस्रो, प्रदेश १ तेस्रो र कर्णाली प्रदेश अन्तिम स्थानमा छ । समूह ‘ए’मा मधेस प्रदेशले शीर्ष स्थान कब्जा गर्दा बागमती दोस्रो, गण्डकी तेस्रो र सुदूरपश्चिम प्रदेश अन्तिम स्थानमा छन् ।
प्रतियोगितामा नौ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ‘ए’ मा एपीएफ, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् । पुरुष क्रिकेट भने अगाडि नै सम्पन्न भइसकेको छ ।

नेपालमाला
