काठमाडौं : राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् । नेपाल भलिबल संघले सामाजिक सञ्जालमार्फत बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट पाँच खेलाडी बाहिरिएको जनाएको छ ।
संघले पहिलो चरणमा ५ खेलाडीलाई बाहिर राख्दै १५ सदस्सीय टोली छनोट गरेको हो । बन्द प्रशिक्षणबाट बाहिरिनेमा रेश्मा भण्डारी, पुनम चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी रहेका छन् । रेश्मा, पुनम, उषा र जानकी १३औं दक्षिण एसियाली खेलकुद (साग)को रजत विजेता टोलीका सदस्य थिए ।
छनोट भएका १५ खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, कविता भट्ट, मनिषा कुमारी चौधरी, अरुणा शाही, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ र सरस्वती जैशी छन् । कविता भट्ट, कामना विष्ट, लक्ष्मी चन्द र सरस्वती जैशीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । उनीहरु बन्द प्रशिक्षणमा पर्दै आए पनि अन्तिम समयमा भने राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका थिएनन् ।
यसैगरी कृपा अधिकारीले पनि लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छन् । त्रिभुवन आर्मी क्लबकी सेटर कृपा करिब चार वर्षपछि राष्ट्रिय टोलीमा फर्किएकी हुन् ।
महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगिताका लागि तयारी गरिरहेको छ । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ । महिला टोलीले प्रशिक्षक जगदिश भट्टको नेतृत्वमा तयारी गरिरहेको छ । नेपाली महिला टोलीले सन् २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।

नेपालमाला
