काठमाडौं : साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।
अलमुताइरी नआउने, रोहित इन्डोनेसियातर्फ
माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ ।
तर, नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र डिसेन्सिभ मिडफिल्डर रोहित चन्द भने नेपाल आएनन् । कुवेतका फुटबल म्यानेजर अलमुताइरी माल्दिभ्सबाटै कुवेत गएका छन् । उनी माल्दिभ्सबाटै कुवेत जाने छन् । उनी परिवारसँग केही समय बिताएर नेपाल फर्किने अखिल नेपाल फुटबल संघ –एन्फा) स्रोतले जनाएको छ । साफ च्याम्पियनसिपपछि मुख्य प्रशिक्षकबाट राजीनामा दिने र नेपाल कहिल्यै नफर्किने घोषणा गरेका उनी नेपाल आएर नेपाली टोली सम्हाल्न राजी भएको एन्फा स्रोतले जनाएको छ । अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए । प्रो–लाइसेन्स प्राप्त अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
यसैगरी डिफेन्सिभ मिडफिल्डर रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान गरेका छन् । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्स आएका रोहित त्यहिँबाट इन्डोनेसिया गएका हुन् । उनले सामाजिक सञ्जालबाट इन्डोनेसिया प्रस्थान गरेको जनाएका छन् । रोहित इन्डोनेसियामा जकार्ता पर्सिजाबाट ब्यावसायिक फुटबल खेल्दै आएका छन् । इन्डोनेसियाको अहिले शीर्ष डिभिजनको लिग चलिरहेको छ ।
रोहित नेपालका लागि सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी हुन् । साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्धको खेलसँगै रोहित सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका हुन् । रोहितले पूर्व कप्तान विराज महर्जनलाई उछिन्दै सर्वाधिक क्याप जित्ने दोस्रो खेलाडी बनेका हुन् । २९ वर्षीय रोहितले नेपालका लागि ७४ क्याप खेलेका छन् । विराजले नेपालका लागि ७३ खेल खेलेका छन् । नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान भने कप्तान तथा गोलरक्षक किरण चेम्जोङको नाममा छ । किरणले ७९ खेल खेलेका छन् ।
माल्दिभ्सको राजधानी मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपविजेता बनेको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट विमुख भएको थियो । तर, पहिलो पटक साफ च्याम्पियनसिपको उपविजेता बनेर नेपालले इतिहास भने रच्न सफल भयो ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो ।

नेपालमाला
