काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मनपरीतन्त्र र बेथितिका अनेकौं शृंखला देखिन थालेका छन् । परिषद्का पदाधिकारीले देशको कानुन र नियमलाई बर्खिलाप गरेपछि प्रशिक्षक र खेलाडी नेतृत्वसँग असन्तुष्ट बनेका छन् ।
देशका युवालाई स्वस्थ र अनुशासनको पाठ सिकाउने संस्था परिषद्मा निहीत स्वार्थ हावी भएपछि खेलाडीको मनमा चिसो पसेको छ ।
परिषद्का सदस्य मात्र नभई सदस्यसचिवदेखि उपाध्यक्षसम्म आफूखुसी हिँडिरहेका छन् ।
नेपाल तेक्वान्दो संघको महाधिवेशनलाई लिएर सदस्यसचिव रमेशकुमार सिलवालले आफ्नो अधिकारभन्दा बाहिर गएर संघको निर्वाचनलाई नै बिथोल्ने प्रयास गरेका थिए ।
खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्टीकरण सोधेपछि सदस्यसचिव सिलवाल अहिले थन्किएका छन् । उनी परिषद् आउन नै छाडेका छन् । परिषद्मा कोरोना संक्रमण भएको हल्ला फिँजाए पनि विभिन्न सार्वजनिक कार्यक्रमहरुमा भने खुरुखुरु हिंडिरहेकै हुन्छन् ।
सिलवालभन्दा उपाध्यक्ष शिव कोइराला झन् के कम ! उनले आफ्नो हैसियत र अधिकार मिचेर विश्व तेक्वान्दो संघमा परिपत्र गरेर तेक्वान्दो संघको महाधिवेशन रोक्ने प्रयास गरेका थिए ।
दर्ता चलानी नै नरहेको पत्रमा कोइरालाले कीर्ते गरेको खुलेपछि परिषद्भित्र खैलाबैला मच्चिएको छ ।
उपाध्यक्ष कोइरालाले ३० सेप्टेम्बरमा परिषद्को लेटर प्याड प्रयोग गरी सोझै विश्व तेक्वान्दो महासंघलाई परिपत्र गरेर तेक्वान्दो संघको अधिवेशन बिथोल्न खोजेका थिए । तर, उनको योजना पूरा हुन भने सकेन ।
यी घटनाले परिषद् कसरी चलेको छ भन्ने प्रष्ट पार्दछ । कुनै कार्यकारी अधिकार नभएका उपाध्यक्ष कोइरालाले आफ्नो पदीय जिम्मेवारी र हैसियत भुल्दा सिंगो मुलुकको अन्तर्राष्ट्रिय स्तरमा बदनाम भएको छ ।
परिषद्का प्रवक्ता कुलबहादुर थापाले उपाध्यक्षले अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघलाई दर्ता चलानी नै नगरेर परिषद्को लेटरप्याडमा पत्र पठाएको हो भने गम्भीर विषय भएको प्रतिक्रिया दिए । ‘अध्यक्ष वा सदस्यसचिवले जिम्मेवारी दिनुभएको छ भने अर्कै कुरा हो । उपाध्यक्षलाई दर्ता चलानी नै नभएको पत्र पठाउने अधिकार छैन’, थापाले भने, ‘यो विषयमा मलाई पनि धेरै थाहा छैन । म बुझ्नेछु ।’
अध्यक्षले दिएको अधिकार प्रयोग गरेर उपाध्यक्षले काम गर्न सक्छ । उपाध्यक्ष कोइरालाले अख्तियार दुरुपयोग गरेर परिषद्को लेटरप्याडमा देशको खेलकुदलाई बदनाम गराउने उद्देश्यले अन्तर्राष्ट्रिय संस्थालाई पत्राचार गर्नु देश र खेलाडीकै बेइज्जत गर्ने काम भएको छ ।
उपाध्यक्ष कोइरालाले लेटरप्याडमा कीर्ते गर्दा पनि सदस्यसचिवले कारबाही नगरेको खेलाडीको गुनासो छ ।
खेलकुद ऐन, २०४७ मा एउटा खेलको एक मात्रै संघलाई मान्यता दिने व्यवस्था छ । राजनीतिको आडमा तत्कालीन सदस्यसचिव युवराज लामालाई दबाब दिएर कोइरालाले आफ्नै नेतृत्वमा गैरकानुनी रूपमा माओवादी समर्थक राष्ट्रिय तेक्वान्दो युनियन गठन गरेका थिए ।
तत्कालीन सदस्यसचिव लामा आफैले विभिन्न सभा–सम्मेलन र सञ्चार माध्यममा माओवादीको दबाबमा युनियन दर्ता गरेको बताउँदै आएका छन् ।
परिषद्भित्रै दक्षिण एसियाली खेलकुद (साग) र अन्य अन्तर्राष्ट्रिय पदक जितेर नेपाल र नेपालीको शिर उँचो बनाएको तेक्वान्दो खेललाई कमजोर बनाउने प्रयास भइरहेको प्रशिक्षक तथा खेलाडीले आरोप लगाएका छन् ।
उपाध्यक्ष कोइरालाले परिषद्लाई आप्mनो प्रभावमा पार्ने प्रयत्न गरेकै कारण तेक्वान्दो खेलाडी मारमा परेका छन् । अधिकार नै नभएको अधिकार प्रयोग गर्ने उपाध्यक्ष कोइरालालाई कारबाही गर्न माग उठेको छ । कोइरालालाई लागेका आरोपका विषयमा प्रतिक्रिया लिने प्रयास गर्दा भने सम्पर्क हुन सकेन ।



नेपालमाला
