काठमाडौं : चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई चार विकेटले हराउँदै चितवनले पहिलो पटक उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख रुपैयाँ प्राप्त ग¥यो । उपविजेतामा सीमित बनेको पोखराले १५ लाखमा चित्त बुझायो ।
पोखराले दिएको एक सय १२ रनको सामान्य लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । चितवनको जितमा भीम सार्कीले ६३ रनको अर्धशतकीय पालि खेलेका थिए । उनले ४५ बलमा दुई छक्का र सात चौका प्रहार गरे । यसैगरी दिलिप नाथले १८ रन जोड्दा राजेश पुलामी मगरले १४ रन बनाए । यस्तै मोहमद सहजादले ११ रन बनाउँदा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहे । पोखराका किशोर महतोले चार विकेट लिए । यस्तै नन्दन यादवले दुई विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा अलआउट हुँदै एक सय ११ रनको योगफल बनाएको थियो । पोखराका लागि असेला गुणरत्नेले सर्वाधिक ३४ रन बनाए । यस्तै रिचर्ड लेभीले २६, विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखरालाई सस्तैमा समेट्न चितवनका कमलसिंह ऐरीले चार विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले दुई÷दुई विकेट हात पारे । सोमपाल कामी र सागर ढकालले एक÷एक विकेट झारे ।

Next Article