काठमाडौं : नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेको छ । शुक्रबार भएको दोस्रो खेलमा पीएनजीलाई १ सय ५१ रनले हराउँदै नेपालले शृंखला २–० ले आफ्नो जितेको हो ।
यस अघि पहिलो खेलमा नेपालले पीएनजीलाई दुई विकेटले पराजित गरेको थियो । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.१ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाए । नेपालका युवा बलर चम्किएको खेलमा पीएनजीका चार्ल्स अमिनीले १६, नोर्मन भानुवाले १२ तथा सेसे बाउले ११ रन बनाए । गौडी टोका १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए । लेग स्पिनर सन्दीपले मात्र ११ रन खर्चिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो ।
नेपालका लागि रोहित पौडेलले ८६ रनको अर्धशतकीय पालि खेले । रोहितले १ सय २३ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो दोस्रो अर्धशतक हो ।
रोहितलाई राम्रो साथ दिएका अलराउन्डर करण केसीले ४२ रन बनाए । उनले २६ बलमा उक्त रन बनाएका हुन् । उनले २ चौका र ४ छक्का प्रहार गरे ।
तल्लो क्रममा ब्याट्सम्यान भने लगातार आउट भए । विक्रम सोब १ रनमा पेभेलियन फर्किदा सन्दीप लामिछाने र सुसन भारी अंक नखोली आउट भए ।
नेपालको सुरुवात समेत राम्रो रहेन । ओपनर कुशल भुर्तेल र आरिफ शेख समान ३ रनमा आउट भएपछि दबाबमा आएको नेपालको पालि कप्तान ज्ञानेन्द्र मल्लले उकासेका थिए । उनले ७० बलमा ३ चौका र २ छक्काको मदतले ४५ रन बनाएका थिए ।
विनोद भण्डारी १७ रनमा रन आउट भए । कुशल मल्ल १ र सोमपाल कामी ११ रनमा आउट भए । पीएनजीका चाड सोपरले सर्वाधिक ३ विकेट लिए । यस्तै कबुआ मोरिया र नार्मन भनुवाले २र२ विकेट लिए । चार्ल्स अमिनीले १ विकेट लिए ।

नेपालमाला
