काठमाडौं : संक्रामक रोगका विशेषज्ञहरुले खोप नलगाउने मानिसहरु आफ्नो स्वास्थ्यलाई मात्र जोखिममा नपारेर विश्वभरका मानिसका लागि घातक हुन सक्ने बताएका छन् । त्यस्ता मानिसहरु कोरोनाबाट संक्रमित भएमा उनीहरु ठूलो खतरा बन्ने विज्ञहरु बताउँछन् । किनकि नयाँ कोरोना भेरियन्ट उत्पन्न हुने एक मात्र स्रोत भनेको संक्रमित व्यक्तिको शरीर हो ।
यसकारण पनि खोप नलगाउनेहरु सम्भावित भेरियन्टको ‘फ्याक्ट्री’ भएको डाक्टर विलियम स्काफनर बताउँछन् ।
उनी भेन्डरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरमा संक्रामक रोग विभागका प्रोफेसर हुन् ।
‘जति बढी खोप नलगाउने मान्छे, त्यति नै गुणा बढी स्तरमा भाइरसले आफूलाई फैलाउने अवसर पाउँछ । र, त्यसरी ठूलो स्तरमा फैलदै जाँदा यसले म्युटेट हुने अर्थात् जिन परिवर्तन गर्ने मौका पनि पाउँछ र नयाँ भेरियन्ट उत्पन्न हुनेछ । यो भनेको पछिका लागि अत्यन्तै गम्भीर समस्या हो’, उनी भन्छन् ।
सबै भाइरसले वातावरणसँग अनुकूल रहन आफ्नो संरचनामा परिवर्तन ल्याइरहने गर्छन् र त्यसैगरी कोरोना भाइरस पनि उत्पत्ति भएको समयको तुलनामा आज धेरै परिवर्तित भइसकेको छ ।
यसमा प्रायः बदलावहरु भाइरसका लागि केही होइनन् र कतिले त यसलाई कमजोर पनि पार्न सक्छन् । तर कहिलेकाहिँ त्यही सामान्य प्रक्रियाले भाइरसलाई ठूलो फाइदा पनि दिलाउँदछ जसले यसलाई संक्रमण गर्न सजिलो बनाइदिने, यसको फैलावट तीव्र बनाइदिने र शरीरको इम्युनिटी छल्न सक्ने जस्ता शक्ति दिलाउन सक्छ ।
त्यस किसिमको लाभदायक क्षमता भएका भाइरसले बिस्तारै अन्यलाई प्रतिस्थापन गरि सबैतिर आफूलाई व्याप्त बनाउँछ । र, यसबाट संक्रमित हुने व्यक्तिबाट अर्कामा सर्दा भाइरसको नयाँ रुप पनि सँगै फैलिरहेको हुन्छ । यो रुपान्तरित भाइरस पर्याप्त फैलनमा सफल भएपछि यसैलाई नयाँ ‘भेरियन्ट’को नाम दिइन्छ ।
तर यो सबै प्रक्रियामा भाइरसले आफूलाई ‘रेप्लिकेट’ गर्ने अर्थात आफ्नो उत्पत्ति बढाउनु पर्ने हुन्छ । र खोप नलगाएका व्यक्तिले मात्र भाइरसलाई त्यस्तो अवसर दिलाउँछन् । किनकि फैलन नसक्ने भाइरसले आफूलाई म्युटेट गर्न या आफूमा परिवर्तन ल्याउन सक्दैन ।
अहिले भेरियेन्टहरुको उपस्थिति विश्वभर नै बढिरहेको छ यसमा बी.१.१.७ (अल्फा भेरियेन्ट) पहिलोपटक बेलायतमा देखा परेको थियो ।
यसपछि अर्को यसपछि अर्को बी.१.३५१ (बेटा) भेरियन्ट दक्षिण अफ्रिाकामा भेटियो । त्यस्तै डेल्टा भेरियन्ट नामाकरण गरिएको बी.१.६१७ भेरियन्ट भारतमा पहिलोपटक देखा पर्यो । वसन्तको अन्त्यतिर अमेरिकामा अल्फा भेरियन्ट हावी भइरहेको थियो तर अहिले भने डेल्टा भेरियन्ट हालसम्मकै संक्रामक भेरियेन्ट बन्न पुगेको छ । र, धेरै देशहरुमा यही भेरियन्ट व्याप्त बन्दै जाने प्रक्रियामा रहेको देखिएको छ ।
अहिले प्रयोगमा ल्याइएका खोपहरु यी भेरियन्ट विरुद्ध सुरक्षा दिलाउन सक्ने बताइएको छ तर भाइरसले म्युटेट हुने अवसर पाइरह्यो भने यस वास्तविकतामा कुनैपनि बेला परिवर्तन आउन सक्छ । त्यसकारण पनि डाक्टर र स्वास्थ्यविद्हरुले धेरै भन्दा धेरै मानिसले छिटै खोप लगाऊन् भन्ने चाहेका हुन् ।
विश्व स्वास्थ्य संगठनले गत महिना भनेको थियो, ‘भाइरसलाई हामीले जति फैलन दियौँ त्यति नै यसले आफूलाई बदल्ने मौका पाउनेछ ।’ त्यसैले पनि खोप नलगाएका मानिसहरुले भाइरसलाई फैलन मात्र नभएर त्यसलाई म्युटेट हुनमा पनि मद्दत गरिरहेको हुने डाक्टर फिलिप लेन्ड्रिगनले बताए ।
बोस्टन कलेजका इम्युनोलाजिस्ट डाक्टर फिलिपले भनेका छन्, ‘यसमा भाइरसलाई नयाँ भेरियेन्ट बन्न प्रति व्यक्ति केबल एउटा म्युटेसन मात्र पर्याप्त हुनेछ ।’
सीएनएनबाट

नेपालमाला
