काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागु गर्न प्राविधिक काम भइरहेको जनाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरी काम भइरहेको बताए । आउँदो साउन महिनाभरि मोबाइल प्रयोगकर्तालाई आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरिएको उनले जानकारी दिए ।
उनले कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको अर्थात किनेको मोबाइल नचलाउन आग्रह गरे । अहिले मिडियामा आएजस्तो विभिन्न सामाजिक सञ्जालमा भेटिएको गलत सूचनामा विश्वास नगर्न उनले सचेतसमेत गराए । साउनपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटले काम नगर्न सक्ने भएकोले दर्ता गर्न उनले अनुरोध गरे ।
साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु हुने भएकाले अवैध रुपमा भित्रिएका मोबाइल सेट नचल्ने हुनसक्छ । नेपाल सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दा एमडीएमएस लागु गर्ने घोषणा गरेको थियो । एमडीएमएस लागु भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटले काम गर्दैन । त्यस्ता मोबाइलमा सिमकार्ड राखे पनि प्रयोग गर्न सकिँदैन ।
मोबाइल व्यवसायीले एमडीएमएस लागु भएपछि नेपालमा अवैध मोबाइल नै नरहने बताएका छन् । मोबाइल फोन आयातकर्ता संघका अध्यक्षसमेत रहेका नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपककुमार मलहोत्राले एमडीएमएस प्रणाली लागु भएपछि मोबाइल कारोबार पारदर्शी हुने बताए ।
एमडीएमएस प्रणालीले सबै कारोबारलाई वैध मार्गमा लैजाने उनले बताए । यसले राज्यको करको दायरा बढ्ने, चोरी आयात रोकिने र ग्राहक ठगिने क्रम रोकिने पनि उनले बताए ।
यस्तै, एमडीएमएसमा दर्ता भएका फोनको विवरण तुरुन्त थाहा पाउन सकिने भएकाले मोबाइलको दुरुपयोग गरी हुने अपराध र अपराधी पत्ता लगाउन सजिलो हुने उनको भनाइ छ ।
एमडीएमएस प्रणाली पहिलोपटक लागु हुने भएकाले चलिरहेको मोबाइल र विदेशबाट उपहार तथा पर्यटकले बोकेर आउने मोबाइललाई कसरी चल्न दिने भन्नेबारे मोबाइल फोन आयातकर्ता संघसँग दूरसञ्चार प्राधिकरणले छलफल गरिरहेको छ । छलफलको क्रममा चलिरहेको फोनलाई निश्चित समय दिएर आईएमईआई नम्बर दर्ता गर्न लगाउने सुझाव आफूहरुले दिएको उनले बताए ।
यस्तै, पर्यटकले नेपाल घुम्न आउँदा बोकेर आउने फोनलाई १५ दिनसम्म चल्न दिने र फेरि चलाउन परे भिसा पासपोर्टको विवरण राखेर गर्न सकिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणलाई संघले सुझाव दिएको छ ।
यसैगरी, उपहारमा आएको फोनलाई दर्ता गर्नुअघि भन्सारको प्रक्रिया पूरा गरेर मात्रै चल्न दिने व्यवस्था मिलाउन सुझाव दिएको मलहोत्राले बताए । उपहार आएको फोन पहिलो १५ दिन चलाउन कुनै बाधा नगर्न पनि सुझाव दिएको उनले जानकारी दिए ।
एमडीएमएस लागु भएपछि मोबाइल फोन आयातकर्ताले आयात गरेको सम्पूर्ण मोबाइल फोनको आईएमईआई नम्बर दूरसञ्चार प्राधिकरणमा दर्ता गरेर मात्र बिक्री–वितरण गर्नेछन् ।

नेपालमाला
