लन्डन : इटाली १६औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लन्डनमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।
वेम्बली रंगशालामा खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा इटालीले स्पेनलाई ४–२ गोलले स्तब्ध बनायो ।
पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको बर्नार्डेस्ची र जोर्गिन्होले गोल गरेका थिए । म्यानुयल लोकाटेल्लीले गोल गर्न सकेनन् । स्पेनका जेरार्ड मोरेनो र थिएगो अल्कान्टाराले मात्रै गोल गर्न सकेका थिए । डानियल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।
पेनाल्टीमा खेल पुग्नुअघि दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने इटालीले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६०औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । काउन्टर एट्याकमा स्पेनिस डिफेन्डरले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरेका थिए ।
खेलको ८०औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । फरान टोरेसको स्थानमा ६२औं मिनेटमा मैदान छिरेका उनले डानियल ओल्मोको पासमा गोल गरेका थिए ।
इटालीले अब उपाधिका लागि इङ्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ । तीन पटकको च्याम्पियन स्पेनको फाइनलमा पुग्ने लक्ष्यमा भने गम्भीर धक्का लागेको छ ।
यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भंग गरेको थियो । इटालीले सन् १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
इटालीले क्वार्टरफाइनलमा फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । स्पेनले भने क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गरेको थियो ।
Next Article

नेपालमाला
