रियो दी जेनेरियो : अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो ।
खेलमा सुरुवाती अग्रता पनि अर्जेन्टिनाले नै बनाएको थियो । सातौं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेका थिए ।
दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो । ६१औं मिनेटमा एड्विन कारडोनाको पासमा डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय गरिएको थियो । जसमा अर्जेन्टिनाले कोलम्बियालाई ३–२ ले पराजित गर्दै उपाधि नजिक पुग्यो ।
टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, लौटारो मार्टिनेज र लिएन्ड्रो डेनियल पेरेडेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको प्रहार बाहिरिएको थियो । कोलम्बियाका जुआन कुआड्राडो र मिगुएल बोर्जाले मात्र गोल गर्न सकेका थिए । डेभिन्सन साञ्चेज, यारी मिना र एड्विन कार्डोनाको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले विफल पारेका थिए । अर्जेन्टिनाले उपाधिका लागि घरेलु टोली ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
Previous Article
स्पेनलाई हराउँदै इटाली फाइनलमा
Next Article

नेपालमाला
