काठमाडौं : चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्रै आइसक्ने भएको छ ।पहिलो खेप खोप असार २५ गते काठमाडौं आइपुग्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप खरिदबारे सिनोफार्मसँग सम्झौता भएको १८ असारमा बताएको थियो ।
तर ‘नन डिस्क्लोजेबल एग्रिमेन्ट’ भएको भन्दै थप विवरण खुलाउन मानेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले आइतबार खोप आपूर्तिका लागि हुने तीन वटा फ्लाइटको तालिका नै सार्वजनिक गरेका छन् ।
जसका अनुसार खोप आपूर्तिका लागि असार २४ गते गएर २५ गते फर्किनेछ। यस्तै असार ३१ गते उड्ने विमान साउन १ गते खोप लिएर फर्किनेछ । तेस्रो तथा अन्तिम खेप लिन साउन ७ गते जाने विमान भोलि ८ गते फर्किनेछ ।
स्रोतका अनुसार एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ । यसअनुसार तीन खेलमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ । बाँकी १५ लाख ७१ हजार २०० डोज खोप लिन थप दुई फ्लाइट हुनेछ । त्यसको लागि फ्लाइटको मिति तय भएको छैन । ‘४० लाख खोप खरिदको सम्झौता भएको हो, सबै खोप छिट्टै आइसक्छ’, भट्टराईले भने ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने २४ गतेदेखि खोप आउने बाहेक अरु जानकारी नभएको बताए । ‘कति परिमाणमा खोप आउँछ भन्ने जानकारी मन्त्रालयलाई छैन । असार २४ देखि पटक–पटक गरेर खोप आउने भन्ने जानकारी मात्रै मन्त्रालयलाई छ’, उनले भने ।

नेपालमाला
