म्युनिख : इटाली र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको खेलमा जित निकाल्दै इटाली र स्पेनले अन्तिम चारमा स्थान बनाएका हुन् ।
जर्मनीको म्युनिखस्थित एलिनाज एरिनामा फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिग्रेले एक÷एक गोल गरेका थिए । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खेलको १३औं मिनेटमा इटालीका लियोनार्दो बुनिचीले गोलले गरे पनि त्यसले मान्यता पाएन । भीएआरमा बुनिची अफसाइड देखिएका थिए । ३०औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । मार्को भेराट्टीको पासमा उनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए । खेलको ४४औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाएका थिए । उनले एकल प्रयासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याएका थिए । जियोभानी लोरेन्जोले पेनाल्टी क्षेत्रभित्र जेरिमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो । जसलाई लुकाकुले सदुपयोग गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले राम्रा अवसर बनाए पनि गोल गर्न सकेनन् । दुवै टोलीबाट थप गोल नहुँदा इटालीले खेल २–१ ले आफ्नो पक्षमा पारेको थियो । यस हारसँगै ‘गोल्डेन जेनेरेसन’ टिम बेल्जियम क्वार्टरफाइनलबाटै घर फर्किएको छ । बेल्जियम टोलीका खेलाडीका औसत उमेर ३३ वर्षको रहेको छ । टोलीको सुरुवाती ११ मा स्थान बनाउनेमा दुई जना मात्रै २८ वर्षभन्दा कम उमेरका छन् । जारी युरोकपमा बेल्जियमले साविक विजेता पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो ।
यस जितसँगै इटालीले भने ३२ खेलमा अपराजित रहने टोलीको कीर्तिमान समेत बनाएको छ । इटालीले अघिल्लो खेलमा ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भंग गरेको थियो । यसअघि इटालीले १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । इटाली युरोकपलगायत ठूला प्रतियोगितामा सेमिफाइनलमा पुगेको १२औं पटक हो । इटालीभन्दा अघि जर्मनी २० पटक सेमिफाइनलमा पुगेको छ ।

इटालीले अब सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्दै स्पेनले अन्तिम चारमा स्थान बनाएको छ । रुसको सेन्ट पिटर्सवर्गमा १० खेलाडीमा समेटिएको स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । खेलको निर्धारित ९० मिनेट र त्यसपछि थपिएको अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा स्पेनले बाजी मा¥यो ।
पेनाल्टीमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयरजाबालीले गोल गरेका थिए । स्पेनका सर्जियो बस्केट्सको प्रहार पोस्टमा लागेर बाहिरिँदा रोड्रीको प्रहारलाई स्विट्जरल्यान्डका गोलरक्षक यान सोमेरले बचाएका थिए ।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले मात्र गोल गरेका थिए । फाबियन सियर र म्यानुएल अकान्जीको प्रहार स्पेनिस गोलरक्षक उनाई साइमनले बचाएका थिए भने रुबेन भर्गासको प्रहार बाहिरिएको थियो ।
यसअघि खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोलबाट अग्रता बनाएको थियो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरेका थिए । स्पेनका जोर्डी अल्बाले डिबक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो । खेलको ६८औं मिनेटमा कप्तान जेरदान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा फर्काएका थिए । उनले रिमो फ्युलरको पासमा गोल गरेका थिए । खेलको ७७औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । रिमो फ्युलरले स्पेनका जेरार्ड मोरेनोलाई फल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।
प्रिक्वार्टरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल ले हराएर अन्तिम आठको यात्रा तय गरेको थियो । स्विट्जरल्यान्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराएर स्पेनसँगको भेट पक्का गरेको थियो ।

नेपालमाला
