सेभिल : साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम १६औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्पेनको सेभिलमा आइतबार राति भएको अन्तिम १६ को खेलमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।
सेभिलस्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । खेलको ४२औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका थिए । थोमस मुनिएरको पासमा उनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
पोर्चुगलले पनि केही राम्रा अवसर बनाए पनि गोल गर्न भने सकेन । पोर्चुगलको पटक पटकको आक्रमणलाई बेल्जियमका गोलरक्षक थिबाउट कर्टोइसले विफल पारेका थिए । दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल हुन सकेन । समूह चरणको तीनवटै खेलमा गोल गरेका रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।
बेल्जियम क्वार्टरफाइनलमा पुग्ने चौथो टोली बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।
बेल्जियमले क्वार्टरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अस्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ ।

समूह चरणमा अपराजित बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले तीन खेलमा नौ अंक जोडेको थियो । पोर्चुगलले ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट नकआउट चरणमा स्थान बनाएको थियो । समूह चरणमा तीन खेलबाट चार अंक जोडेको पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टोली बन्दै नकआउट चरणमा पुगेको हो ।
यसैगरी अर्को खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक रिपब्लिकले पनि अीनतम आठमा स्थान बनायो । आइतबार राति हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा समेटिएको नेदरल्यान्ड्सलाई २–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । चेकका लागि टोमस होल्स र प्याट्रिक सिकले एक÷एक गोल गरेका थिए ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेक रिपब्लिकले दुई गोल गरेको थियो । ५५औं मिनेटमा नेदरल्यान्ड्सका माथिज्स डी लिग्टाले रातो कार्ड पाएपछि त्यसैको फाइदा उठाउँदै चेक रिपब्लिकले दुई गोल ग¥यो ।
त्यसअघि ५२औं मिनेटमा नेदरल्यान्ड्सले गोल गर्ने सुन्दर अवसर गुमाएको थियो । नेदरल्यान्ड्सका डोनिएल मालेन वान भर्सेस वानमा चुकेका थिए ।

५५औं मिनेटमा माथिज्स डी लिग्टा रातो कार्ड पाउँदै मैदान छाडेपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । बल ह्यान्ड गरेकाले भीएआरको सहयोगमा लिग्टालाई रातो कार्ड देखाइएको थियो ।
त्यसपछि ६८औं मिनेटमा टोमस होल्सले हेड गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । ८०औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै चेक रिपब्लिकको अग्रता दोब्बर पारेका थिए । उनले टोमस होल्सको क्रसमा गोल गरेका थिए । जारी युरोकपमा सिकको यो चौथो गोल हो ।
चेक रिपब्लिकले अब क्वार्टरफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । १६ टिमको युरोकप हुँदा सन् २०१२ मा क्वार्टरफाइनल खेलेको चेक त्यसपछि पहिलो पटक अन्तिम आठमा पुगेको हो । सन् २००४ मा समूह चरणको खेलमा चेकले नेदरल्यान्ड्सलाई ३–२ गोलले पराजित गरेको थियो ।
समूह ‘डी’ मा तेस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको चेक रिपब्लिकले समूह ‘सी’ मा तीनवटै खेल जित्दै विजेता बनेको नेदरल्यान्ड्सलाई पराजित गरेको हो ।

नेपालमाला
