रियो दी जेनेरियो : आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग बराबरी खेलेको छ ।सोमबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो ।
पेड्रो ओलम्पिक स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो । खेलको ३७औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । एभर्टनको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए ।
त्यसपछि खेलको ५३औं मिनेटमा एञ्जल मिनाले गोल गर्दै इक्वेडरलाई १–१ गोलको बराबरीमा गरेका थिए । उनले इनर भ्यालेन्सियाको पासलाई सदुपयोग गरेका थिए ।
यस बराबरीसँगै समूह ‘बी’ को ब्राजिल समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा अपराजित ब्राजिलले चार खेलमा १० अंक जोड्यो । इक्वेडरले चार खेलमा तीन अंक जोड्यो । इक्वेडर पनि चौथो स्थानमा रहँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो ।
कोपा अमेरिका फुटबलकै अर्को खेलमा जित निकाल्दै पेरुले पनिक्वार्टरफाइनलमा स्थान बनाएको छ । सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १–० गोलले पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो ।
पेरुको जितमा आन्द्रे कारिल्लोले निर्णायक गोल गरेका थिए । उनले खेलको ४८औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै पेरु समूह ‘बी’ को उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । पेरुले चार खेलमा सात अंक जोड्यो । भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ । दुई अंक जोडेको भेनेजुएला पुछारमा रह्यो ।
Previous Article

नेपालमाला
