सेन्ट पिटर्सबर्ग : युरोकप फुटबलअन्तर्गत समूह ‘बी’को अन्तिम चरणको खेलमा जित हासिल गर्दै बेल्जियम समूह विजेता र डेनमार्क उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् ।
बेल्जियमले फिनल्यान्डलाई २–० गोलले पराजित गर्दा डेनमार्कले भने जित्नैपर्ने खेलमा रसियालाई ४–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । बेल्जियमले तीन खेलमा नौ अंकका साथ शतप्रतिशत नतिजा निकाल्दै शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । डेनमार्क, रसिया र फिनल्यान्डको समान तीन÷तीन अंक रहे पनि तीन टोलीबीच नतिजामा डेनमार्क गोल अन्तरमा अगाडि रहँदै नकआउट चरणमा प्रवेश ग¥यो । फिनल्यान्ड तेस्रो स्थानमा छ र अघिल्लो चरणमा प्रवेशका लागि अन्य समूहको नतिजा पनि कुर्ने भएको छ । रसिया भने पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।
सेन्ट पिटर्सबर्गमा बेल्जियमले दोस्रो हाफमा गरेको दुई गोलको मद्दतले फिनल्यान्डलाई २–० ले पराजित गर्न सफल भयो । बेल्जियमले खेल अवधिभर फिनल्यान्डलाई दबाबमा राखेपनि गोलका लागि ७४ औं मिनेटसम्म कुर्नुपरेको थियो । बेल्जियमको अधिकांश आक्रमणमा बाधक बनेका गोलरक्षक लुकास हदेच्की नै बेल्जियमको अग्रतामा निर्णायक बन्न पुगे ।

कर्नरमा आएको बललाई थोमस भर्मालेनले हेडर गर्दा पोस्टमा लाग्दै आएको बल गोलरक्षक हदेच्कीलाई लाग्दै गोल भएको थियो । ८१ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको जित पक्का गरे । उनले केभिन डी ब्रुनको पासलाई सदुपयोग गरेका थिए ।
यस्तै कोपेनहेगनको पार्केन रंगशालामा घरेलु टोलीले रसियालाई हराउँदा उत्कृष्ट प्रदर्शन गरेको थियो । आफ्ना प्रभावशाली खेलाडीक्रिस्टियन एरिक्सन पहिलो खेलमै मैदानमा ढलेपछि विक्षिप्त बनेको डेनमार्कले लगातार दुई खेल हारेको थियो ।
पहिलो हाफको ३८औं मिनेटमा मिकेल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले पिएर एमिल होजवर्गको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार दर्शनीय गोलमा परिणत भएको थियो । दोस्रो हाफको ५९औं मिनेटमा युसुफ पौलसेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । ७०औं मिनेटमा रसियाले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने अवसर पाएको थियो । यानिक भेस्टगार्डले पेनाल्टी क्षेत्रभित्र सोबोलेभलाई लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान आर्टम ज्युबाले गोल गरेका थिए ।
खेलको ७९ औं मिनेटमा डिफेन्डर आन्द्रेस क्रिस्टेन्सनले गोल गर्दै डेनमार्कलाई अगाडि बढाए । ८२ औं मिनेटमा जोआकिम माहलेले गोल गर्दै डेनमार्कको जित सुनिश्चित गरे । काउन्टर अट्याकमा अघि बढेको डेनमार्कका माहलेले विपक्षी गोलरक्षकलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए ।
डेनमार्कले अब अन्तिम १६ को खेलमा वेल्सको सामना गर्नेछ । बेल्जियमले भने तेस्रो स्थान हासिल गर्ने कुनै एक टोलीको सामना गर्नेछ । डेनमार्कले पहिलो खेलमा फिनल्यान्डसँग १–० र दोस्रो खेलमा बेल्जियमसँग २–१ को हार बेहोरेको थियो । अन्तिम खेलमा जित हासिल गर्दै अर्को खेलको नतिजा पनि अनुकुल आएपछि डेनमार्क अघि बढेको हो ।
अलिहेसम्म समूह ‘ए’ र समूह ‘सी’को सम्पूर्ण खेल समाप्त भइसकेको छ । समूह ‘ए’बाट इटाली र समूह ‘सी’बाट नेदरल्यान्ड्सले शतप्रतिशत नतिजा निकाल्दै अन्तिम १६ को यात्रा तय गरिसकेका छन् । इटालीले अब अन्तिम १६ मा समूह ‘सी’को उपविजेता अष्ट्रियासँग खेल्नेछ । अष्ट्रियाले सोमबार भएको खेलमा युक्रेनलाई १–० ले पराजित गर्दै पहिलो पटक नकआउट चरणको यात्रा तय गरेको थियो । अष्ट्रियाले तीन खेलमा दुई अंक जोड्दै दोस्रो स्थान हासिल गर्दा तीन खेलमा नौ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रह्यो ।
नर्थ म्यासेडोनियालाई ३–० ले पराजित गर्दै डच टोलीले समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । तीन अंक जोडेको युक्रेनले भने अन्य समूहको नतिजा कुर्नु परेको छ । नर्थ म्यासेडोनिया पहिलो सहभागितामा अंकविहीन रहँदै घर फर्कियो । नेदरल्यान्ड्सले अन्तिम १६ मा तेस्रो स्थान हासिल गर्ने टोलीको सामना गर्नेछ । कुन टोलीसँग खेल्ने भन्ने टुंगो भने लाग्न बाँकी छ ।

नेपालमाला
