बुडापेष्ट : युरोकप फुटबलमा साविक विजेता पोर्चुगलले सुखद् सुरुवात गरेको छ । युरोकपअन्तर्गत समूह ‘एफ’को खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोलले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
साविक विजेता पोर्चुगलले गोलका लागि ८४ मिनेटसम्म पर्खनु परेको थियो । सुरुदेखि आक्रमण खेल पस्किए पनि हंगेरीका डिफेन्सले पोर्चुगलका समर्थकलाई निरास पारेका थिए । पहिलो हाफमा कप्तान क्रिस्टियानो रोनाल्डो पटक पटक चुक्दा पोर्चुगलले गोलका लागि संघर्ष गर्नु परेको थियो ।

पहिलो हाफमा रक्षात्मक खेल खेलेको हंगेरी दोस्रो हाफमा आक्रमणमा उत्रिएको थियो । जसका कारण पोर्चुगलको पोस्ट्मा लगातार आक्रमण भएको थियो । ८०औं मिनेटमा स्जाबोल्स सोहोनले गोल गरे पनि रेफ्रीले अफसाइड दिएका थिए । त्यसअघि पनि केही राम्रा अवसर बनाए पनि गोल गर्न भने सकेन ।
खेलको ८४औं मिनेटमा पोर्चुगलले गोलको खाता खोलेको थियो । रफायल गुरेर्रोले गोल गदैै पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो गोल गरेको दुई मिनेटपछि नै पोर्चुगलले पेनाल्टीको मौका पाएको थियो । राफा सिल्भालाई हंगेरीका विली अर्बानले फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । जसलाई कप्तान क्रिस्टियानो रोनाल्डोले सदुपयोग गर्दै गोल गरेका थिए । खेलको इन्जुरी समयमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई ३–० जित दिलाएका थिए । डीबक्सभित्र उत्कृष्ट ड्रिबिङ गर्दै रोनाल्डोले वान भर्सेस वानमा गोल गरेका थिए । अहिलेसम्म सर्वाधिक पाँच पटक युरोकप खेलेका रोनाल्डोले पोर्चुगलका लागि एक सय चार गोल गरिसकेका छन् ।

जितसँगै समूह ‘एफमा रहेको पोर्चुगलले महत्वपूर्ण तीन अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा छ । साविक विजेतासँग फराकिलो हार बेहोरेको हंगेरी अन्तिम स्थानमा छ ।

नेपालमाला
